रीता बलामी
“खुब मस्किँदै कुरा हुन्छ नि अचेल, राति रातिसम्म को हो त्यो?” सरलाले भनिन् “ स्कुलको बेस्टफ्रेन्ड सुमन । अमेरिकाबाट फर्कँदै । मलाई ल्यापटप गिफ्ट ल्याइदिने रे । ” टेलिभिजन हेरिरहेको विनोद जुरुक्क उठेर सुत्न गयो । आज नन्द, आमाजू सबै जम्मा भएका थिए ।
भोलिपल्ट विनोद त हिँडिसकेछ । दिनभरि सरलाको फोन पटक्कै उठाएन । राति बेसरी पिएर आएछ । ठीक त्यही बेला मोबाइल बज्यो । सरला आफ्नो कोठातिर जाँदै बोलिन्, “मायाले ल्याइदिने गिफ्ट जस्तो भए नि अनमोल हुन्छ नि । थ्याङ्क्यु ।” सबैले कान ठाडो पारेर सुने । विनोदले अपशब्द बोलेर झम्ट्यो ।
सरला ः — (डराउँदै) मैले के गरेँ र ?
विनोद ः —अझ लाज लाग्दैन ? चरित्रहीन आइमाई । गैहाल् निक्लेर । म तँलाई डिभोर्स दिँदै छु । यही मोबाइलमा होइन तेरो ब्वाइफ्रेन्डको फोन आउने ?
एक थप्पड हानेर मोबाइल फालिदियो । सबैले ठिक्क भयो भनेजस्तो गरेर हेरिरहे । सरलाले बल्ल बुझिन् ˗सुमनलाई ब्वाइफ्रेन्ड भन्ठानेछन् । ठिकै छ... तर कसैले एक वचन नसोधी यस्तो दुर्व्यवहार?
दुर्व्यसनमा फसिसकेको विनोदसँग बिहे गर्दिएछन् । चार वर्षसम्म सरलाले कम्ती यातना भोगिनन् । सबैले तेरो भाग्यै यस्तै रहेछ । पछि सुध्रिन्छ , सहनु भने । सरलाकै पहलमा सुधार गृह राखियो । घरकाले नछोड है भनेर अनुनय विनय गर्थे । केटीहरू घरमै लिएर आउँथ्यो । यस्तै रहेछ नारीहरूलाई भाग्य भनेर जे नि सहन र जति बिग्रेका भए पनि पछि सुध्रिन्छ भनेर पर्खन लगाइन्छ । एक कल फोन आउँदा चरित्रहीन? हिंसा ? डिभोर्स ? कति सहनु ?
“मलाई डिभोर्स मञ्जुर छ , म माइत गएँ ।” यस्तो लेखेर सरला हिँडिछ । “ती माग्नेहरूले कति दिन राख्लान् र ?” घरकाको प्रतिक्रिया । अब छोरो अलि सुध्रियो, के मतलब ।
दस दिन पछि शनिबार... डोर बेल बज्यो । सबै घरमा थिए । ढोका खोले, “नमस्ते, म सुमन, सरलाको स्कुलको बेस्टफ्रेन्ड । कति फोन गरेँ उठाइनन् । सरप्राइज दिन घरमै आएँ । खै त उनी ?” एक युवतीले ल्यापटप सोफामा राख्दै सोधिन् ।
लघुकथा: दम्भ
- विनाेद नेपाल
उनकाे स्वभावमा आएकाे परिवर्तन देखेर मानिसहरु आश्चर्यचकित थिए । खुलेर बाेल्ने उनी कसैकाे कुरा नसुन्ने भएका थिए । आफू ठीक अरु सबै बेठिक भन्ने अचम्मको भावना उनमा बढेको थियाे ।
बिराेधी, बिपक्षीलाई वचन बाणले थला पार्न त सिपालु थिए तर एकपछि अर्को कर्तुतका कारण आलोचना बढ्दै थियाे । हुँदाहुँदा ढाक्दाढाक्दै पनि नछेकिने गरी नाङ्गिने अवस्था उत्पन्न भयाे ।
उनले बैठक बाेलाए । बैठकमा असन्तुष्टिका थुप्रै आवाजहरु सुनिए । त्यसमा पनि निकटस्थहरुकै कामकाजलाई लिएर धेरै प्रश्न उठे । कतिले त हिसावकिताब नै खाेज्न थाले ।
उनी एकाएक जङ्गिए । 'म माथि शङ्का गर्ने ?' ' मेराे व्यक्तिगत लाभका लागि गरेकाे हाे र हिसाबकिताब खाेज्ने ? ' 'भविष्य नहेर्ने ? अहिले नगरे कहिले गर्ने ? बिराेधी त बिराेध गरे भनेर तपाईंहरु पनि लहलहैमा लाग्ने ? कुरा बुझ्नु पर्दैन ?'
उनकाे क्राेध देखेर बैठकमा सन्नाटा छायाे ।
उनले अन्त्यमा भने- ' म जे गर्छु ठीक गर्छु, यसैले प्रश्न गर्ने हाेईन, केवल ताली बजाउनुहाेला । बाँकी सबथोक मेराे जिम्मा भाे ।'
उनले खल्तीबाट बाँसुरी झिकेर बजाउन थाले ।
२०७७।०२।२९
लघुकथा : रंगीन माछा !
मदन पराजुली
" बहिनी ! यता एक माछा !"
महिनावारी होटलमा खाना खादा मैले भान्छे नानीलाइ औला ठड्याएर भनें ।
" माछा ...! छ र ...?" छेउका नया साथीले प्रश्न गरे ।
" अर्को एउटा पनि ! यता साथीलाई !" भान्छे नानीलाइ थप आदेश दिएं ।
" कस्तो माछा हो यो ...!?" साथी उत्सुक थिए , कहिल्यै माछा नपाक्ने होटलमा आज माछा !!
" विशेष हो ! औला जत्रैजत्रै साइजमा हुन्छ । अति स्वादिष्ट ! बस आधा टोक्नोस ! पाँच गास भात निलिन्जेल काफी ! खास विशेष के भने यो रंगिन माछा हो ! रंगिन माछा खान हुदैन भनिन्छ । तर यो खानको लागि बिलकुल सुरक्षित !"
भान्छे नानीले यहिबेला एक एक वटा हरियो खुर्सानी ल्याएर भागमा हालिदिइन !!!!
कथा
बाकस
वनमाली निराकार
बूढी आमा पिंढीमा बसेर तरकारी बनाई रहेकी थिइन् । तीन चार जना छिमेकी आँगनमा देखा परे । बूढीआमा आँखाले राम्रै देखे पनि कानले रम्ररी सुन्दिनन् । त्यसैले मान्छेले भनेका कुरा खण्ड खण्डमा सुन्थिन् र खण्ड मै बुझ्थिन् । यति सबेरै आफ्नो आँगनमा आइपुगेका छिमेकीहरु तर्फ किन आएका हुन भन्ने आशयको प्रश्नवाचक दृष्टिले हेरिन् ।
त्यहाँ आएका मध्ये अलि पाको जस्तो देखिने मान्छे अघि सरेर भन्यो, 'आमै, सदरमुकाम जानु पर्ने भयो हजुरको छोराको बाकस बुझ्न ।'.
दाहिने हातले दाहिने कानलाई छेके जस्तो गरी भनिन् , 'छोराको बाकस ? '
'हजुर ' पूर्ववक्ताले यत्ति भन्यो ।
त्यस पछि केही नबोली बूढी आमा तरकारीको भाँडो उठाइन र भित्र पसिन् । र केही बेरमा सदरमुकाम जान तैयार भएर निस्किन ।
जिल्ला प्रशासन कार्यालयको परिसरमा चारैतिर एक प्रकारको स्तब्धताथियो । त्यहाँ केही मान्छेत थिए ती पनि चुपचाप थिए । अचानक एउटा कुनाबाट पाँच छ वर्षको केटो 'हजुरआमा' भन्दै निस्कियो र बूढीआमासँग टाँसियो । बूढीआमाले पनि 'मेरो नाति' भनेर अँगालोले बाँधिन् । केटाको पछि पछि रुँदारुँदा थाकेका आँखा र गलित शरीर लिएर एउटी युवती बुढीआमा छेउ आएर उभिई । बूढीआमाले एक नजर बुहारीलाई हेरिन् र नातिलाई माया गर्नमा नै व्यस्त भईन् । युवती सासुलाई अंगालेर बेसरी रुन चाहन्थिन् तर सकिनन् । लोग्ने वैदेशिक गोजगारका लागि विदेशिए पछि सासुलाई एक्लै गाऊँमा छाडेर छोरा पढाउने बहानामा सहर बस्न थालेकी हो । गाऊँ छाड्ने बेलामा सानो बालकले हजुरआमालाई पनि सँगै लिएर जाऊँ भनी जिद्दी गरेकै हो ता पनि उसले छोरालाई लगभग तान्दै घिसार्दै सहरतिर लागेकी हो । आज अचानक सासुसँग यस्तो अवस्थामा भेट्नु पर्ला सोचेकै थिइन । त्यसैले सासुसँग अँगालो मारेर निर्धक्क रुन सक्दिन । यस्तो अवस्थामा सासु बुहारी बीच कुनै सम्वाद हुने कुरै भएन ।
बुहारीले गाऊँबाट आमालाई लिएर आउने छिमेकीसँगकुरा गर्न लागी - 'काठमाण्डुबाट लास जिल्ला पठाइदिने खबर पाए पछि म यही बसें । लास बुझ्न जाँदा - परिवारमा को को हुनुहुन्छ ? तपाईं मृतकको को हो ? आदि प्रश्न सोधियो। गाऊँमा आमा हुनुहुन्छ भने पछि लास बुझ्न आमालाई लिएर आउनू - भने त्यसैले तपाईँहरुलाई दु:ख दिएकी हूँ ।'
'दु:खको के कुरा ? यस्तै बेला न हो छिमेकी चाहिने ! बरु औपचारिक काम सकौं पहिले' बूढी आमालाई लिएर आउनेहरुले भने ।
सबै कार्यालय भित्र पसे । आवश्यक कागजपत्रमा सासुबुहारीको ल्याप्चे सहीछाप लगाएपछि चारजना सिपाहीले लास भएको बाकस मोटरमा चढाई दिए ।
बूढीआमालाई पनि सबै मिलेर मोटरमा चढाए अनि सबै चढे । मोटर हिंड्नै लागेको बेला बुढआमाले हर्ष मिश्रित स्वरमा भनिन् - 'मेरो छोरो पहिले देखिनै पौरखी नै हो । खूब मिहिनेती थियो । सँधै भन्ने गर्थ्यो-आमा, तिमीलाई कुनै अभाव हुन दिने छैन , नभन्दै यी आज यति ठूलो 'बाकस' पठाएछ !'
-भैरहवा
लघुकथा: परिवर्तित दृष्य ।
अवतार ढकाल ।
आफूलाई पढाउने गुरूलाई भेटन पन्ध्र वर्ष पछि क्याम्पस पुगेको थिएँ । हरिहर सर सबैका प्रिय गुरु थिए उबेला । युवा, सहयोगी र विषयबस्तुमा पोख्त थिए ।
म पुग्दा हरिहर सर पढाइरहेका थिए । सर उहि थिए । अलिक वृद्ध तर सुहाउँदो गरि मोटाएका । राता पिरा । हल उहि थियो जहाँ हामी पढने गर्थ्यौं । तर एउटा दृष्य फरक थियो । कक्षामा जम्मा ६ जना मात्र विद्यार्थी थिए ।
उहिले हामी पढदा यहि हलमा १५० जना विद्यार्थी हुन्थ्यौं । करीब १२० जना विद्यार्थी अटाउने हलमा प्रत्येक दिन केही विद्यार्थी उभिनु पर्थ्यो । मैले पनि धेरै पटक उभिएर पढेको थिएँ ।
कक्षाको समय सकिएपछी सर बाहिर निस्किए । सुरुमा मलाई चिन्न गाह्रो माने उनले । नाम, ठेगाना बताएपछि सम्झिए ।
` आज किन विद्यार्थीहरू कम आएछन सर ? बन्द , हडताल केही थियो कि क्या हो ?´ मैले हलतिर देखाउँदै सोधें ।
` कम होइन नि । आज त सत् प्रतिशत आएका हुन ।सरकारी कलेजमा कोहि पढनै चाहँदैनन् आजकल ।´उनले भने । उनको चेहरामा न निराशा थियो, न असन्तुष्टि नै ।
केहिक्षण कुरा गरेपछी सरले घडी हेर्दै भने, ` अहो एउटा क्लास लिन ढिला हुन थालेछ ।´
खल्तीबाट एउटा आकर्षक भिजिटिङ कार्ड दिंदै उनले भने ,` दुई घण्टा पछि यहाँ भेटौं न है । अहिले म गएँ । समयमा पुग्नै पर्छ ।´
मैले कार्डमा आँखा लगाएँ । पृष्ठभूमिमा भब्य भवन सहितको कलेजको कार्डमा लेखिएको थियो : प्रा. हरिहर शर्मा , फाउन्डर तथा प्रमुख भाषा तथा साहित्य विभाग ।
सरको कार गेट बाहिर पुगिसकेको थियो । म हल भित्रको परिवर्तित दृष्य हेरिरहेको थिएँ ।
लघुकथाः स्वदेश
हेमलता उप्रेती
“उता त मकैलाई पपकर्न, कर्नफ्ल्याक्स जस्ता मीठामीठा खानेकुरा बनाउँछन् रे । महङ्गो दाम हालेर खान्छन् रे । म पनि अब उतै जानु पर्यो है साथी हो । यहाँ सबैको हेला ‘भुटेको मकै’ भएर के बस्नु ?”
मकैको बोटको कुरा सुनेर भटमासले भन्यो “मनकै कुरा गर्यौ । भटमासको त झन् खोस्टाको पनि परिकार बनाउँछन् रे । तेल समेत निकाल्छन् रे । यहाँ त आफै मर्ने गरी खान्छन् अनि ‘कुन्तकी बुहारी भटमास खाकी’ भनेर उल्टै गिज्याउँछन् । यस्ता ठाउँमा के बस्नु म पनि उतै जाने बिचार गर्दैछु ।”
दुबैको कुरा सुनीरहेको आलुले थप्यो “मलाइ त झन् पोटेटो चिप्स, लेज जस्ता अनेक परिकार बनाएर ठुल्ठुला होटलमा बिक्रि गर्छन रे । कुरा सुन्दा त मलाइ पनि यहाँ एकैछिन बस्ने मन छैन ।”
बारीमा झार उखेल्न गएको बेलामा लहलह फलिरहेका मकै भटमास र आलुका बोटहरुले गरेको कुरा सुनेर मर्माहत हुँदै आमाले भन्नुभो, “विदेशमा तिमीहरुलाई मीठामीठा परिकार भनेर महङ्गो दाम तिरेर किनी खाने जोन, ज्याक र ह्यारी मेरै छोरा जगत, जीबन र हरी हुन् । उनीहरु अब यहीं फर्केर आउँदैछन् । त्यसैले बाबु हो, तिमीहरु उता जाने कुरा नगर ।”
आमाको कुरा सुनेर खुशीले हाँस्दै पछाडिबाट फर्सीका मुन्टा र काक्राका चिचिलाले एकै स्वरमा भने,
“आहा ! दाइहरु यतै आउँने रे । वहाँहरुलाई हाम्रो रसिलो स्वादले तान्यो होला ।”
मुसुक्क हाँस्दै मकैले भन्यो, “हैनहैन, वहाँहरुलाई विदेशको दुःख र अपमानले ठेल्यो क्यारे ।”
अनुहार उज्यालो बनाउँदै आलुले भन्यो, “त्यसो होइन होला । वहाँहरुलाई आमाको मायाले ताने जस्तो छ ।
गम्भिर भएर सोचिरहेको भटमासले प्वाक्क बोल्यो, “अब दाइहरुले उता सिकेको सीप प्रयोग गरी हामीलाई यहीं मीठामीठा परिकार पो बनाउने हुन कि ?”
सबैका कुरा सुन्दा आमाका आँखा रसाए । मर्माहत भई पछ्यौराले आँखा पुछ्दै बारीबाट फर्कनै लाग्दा आमालाई सबैले एकैसाथ भने, “आमा दाइहरुलाई भन्दिनु, हामीलाई त्यो विदेशी मल र भिटामिन नल्याई दिउन् है । हामीलाई त्यो ठीक लाग्दैन । हामीलाई त यहींको गाइभैंसीको मल नै ठीक लाग्छ ।”
इलाम नगरपालिका ७, इलाम ।
२०७७/०२/२९
लघुकथा : चलेको चलन
इन्दिरा प्रसाई
•••
• 'किन चाहियो नयाँ फर्निचर ? दुई वर्ष पनि पुगेको छैन यी फर्निचर किनेको!'
वैठकमा घरायसी पुरानो फर्निचर वालासँग उर्वशीले छलफल चलाएको देखेर मैले उनीसँग जिज्ञाशा राखेको थिएँ ।
• 'सम्धिनीले भोलि फर्निसिङको मान्छे पठाउँछु भनेर फोन गरिस्सेको थियो । त्यसैले यी सबै पुराना बेचिदिन लागेको हजुर !'
उर्वशी मुसुक्क हाँसेर मलाई जवाफ दिँदै फेरि फर्निचरवालासँग छलफलमा लागिन् ।
• 'सबैथोक तिमीसँगै छ ।किन लिनु पर्यो ? 'हामीलाई केही चाहिँदैन । बुहारीमात्र दिनुस् । हामी छोरा बेच्तैनौँ' भन्न सकिनौँ ! '
मैले अलि रन्किँदै माग गरेको थिएँ ।
• 'त्यसो भनेर काँ हुन्छ र हजुर ! चलेको चलन ! रोसाको मम्मीले त छोरीका लागि एपार्टमेन्ट नै बुक गरिस्या रै'छ नि । तयार नभएर मात्र हो । अहिलेलाई यही घर भए नि फर्निसिङ गराउन लागिस्सेको रे ! हजुर, हामीलाई पनि भरे अौँठीको नाप दिन सुनारेकाँ बोलाइस्या छ है , हजुर अफिसबाटै विशालबजार पुगिस्सेला, मेरो त किनमेल पनि छ, त्यसैले अलि छिट्टै नै पुग्छु।'
उर्वशीको उल्लासित तर अप्रिय आवाज मेरा कानमा ठोक्किएको थियो ।
• 'म त आउँला, तर तिमी पछि नपछुताउनु है !' विवश म रन्किँदै अफिसतिर लागेको थिएँ ।
• 'हजुरको पनि कस्तो असामाजिक कुरा…' उर्वशी बोल्दै थिइन् ।
छोरोको बिहे सकिएको दुई महिनापछि :
• 'रोशा र निखिलको आज अपार्टमेन्टमा सर्ने साइत छ रे, सम्धिनीले हामीलाई पनि भरे डिनरका लागि निम्ता गरेकी छिन् । के खालका मानिस रहेछन् ! हामीसँग त केही सरसल्लाहा पनि गरेनन् । हाम्रो एक्लो छोरो बुहारी जान्दाजान्दै , यही घर ड्वाङ्ड्वाङ्ति जान्दाजान्दै... ।' उर्वशीको रून्चे आवाज सुनियो ।
• 'चलेको चलन' मैले जवाफ दिएँ र हिडेँ ।
•
म पनि त एक्लो छोरो थिएँ तर काठमाडौँमा ससुरालीले दिएको दाइजो घडेरी रूँगेर यतै बसेँ । विराटनगरको पुर्ख्यौली घरमा आमा एक्लै बस्नुभो र जीवन विसर्जन पनि उतै गर्नु भो । आमाको चोला उठेपछि समाजका अगाडि दागबत्ति दिन र सेतो थान बेर्नमात्र म विराटनगर पुगेको थिएँ ।
•
सुक्सुकाएको आवाज सुनिएको थियो । सायद समय रूँदै थियो।
•••
Comments
Post a Comment
Thanks for your concern. We would be very grateful to hear and respond you. ♥ ♥