Nepalikatha29
लघुकथा:- नि:शुल्क दही
✍दिपक खनाल अगम
लुरे र उसकाे बाबाअामा नेपालको एउटा सानाे गाउँमा बस्थें । गाउँमा बसाेबास भएपनि सम्पत्तिकाे नाममा दस धुर जमिन र त्यसमा ठडिएकाे एउटा सानाे छाप्रो बाहेक पशु-चाैपाय वा गाई,भैंसी र भेडाबाख्रा केही थिएन । उसकाे बाबाअामा कृषि ज्याला मजदुरीकाे काम गर्थें ।
उनीहरूको परिवारमा मिठाे मसिनो,दुधदही, माछामासु वा तागतिलाे खुराक खान दशैं तिहार नै कुर्नु पर्थ्याे । एकै शब्दमा भन्दा लुरेकाे परिवार सार्है गरिब थियाे । गरिबी र दुखकष्टबाट जतिसुकै टाढा हुन खाेजेपनि त्याे लिसाे झैं टासिएर उनीहरूको साथ छाेड्दैनथ्याे ।
नेपालकाे गाउँघरमा माेही नि:शुल्क पाइन्थ्याे। लुरे प्राय गाउँले छिमेकी जस्तैः ठुली अाम,माइली अामा, साहिंली अामा र काकी कहाँ गएर माेही मागेर ल्याउथ्याे ।
लुरे एकदिन गाउँले ठुली अामा कहाँ माेही माग्न गयाे । ठुली अामाले साेध्नुभयाे । ए, लुरे ! त्यरी अामा बिरामी छे हाेइन् ? हाे ठुली अामा लुरेले जवाफ फर्कायाे ।
ल अाज दही लगेर खान दे भन्दै दही दिएर पठाउनुभयाे । ऊ खुशी ले बुर्कुसी मार्दै घरमा अायाे । घर भित्र पस्नै लाग्दा दैलाेकाे ठेलामा अल्झेर दलानमा गर्ल्याम्म पछारियाे । उसकाे बाटा भरिकाे दही घाेप्टेर चार दिशा फैलिएर बग्याे ।
अामाले तेरो भाग्यमा मिठाे खान कहाँ लेखेकाे छ र भन्दै गाली गर्नुभयाे । ऊ डाकाे छाेडेर राेयाे । गाली ले भन्दा लामाे अन्तरालमा अायकाे मिठाे लाग्ने दही खान नपाएकोमा सार्है दुखी भयाे ।
दही मुखमा नपरेपनि अामाले अरुकाे सित्तैमा केही खान हुदैन् भन्दै, अाफ्नाे दुई पाखे घरकाे छानाेमा फलेकाे फर्सी टिपेर लुरेलाई पुर्याउन भन्नुभयाे । ऊ फर्सी लिएर ठुली अामाकाे घर तर्फ गयाे ।
ठुली अामाकाे घर छेउमा पुग्दा । उहाँको छाेरीले, अामा ! कस्तो तिर्खा लागेको छ एक गिलास दही दिनाेस् भनेकाे सुन्याे । ठुली अामाले दही छैन, मैले ठेकीकाे बिर्काे लगाउन बिर्सेछु । दुईवटा मुसा पसेर ठेकीबाट बाहिर निस्कन लाई पाैडी खेल्दै रहेछन् , मैले मुसा ठेकीकाे दही बाट झिकेर दही लुरेलाई दिएर पठाएँ । याे सुनेर लुरे "हे,भगवान तिमी महान छाै !" भन्दै त्यहीँ थ्याच्च बस्याे ।
लघुकथा:- आँपको सिजन
नवराज कोइराला
घरबाट साइकलमा बजारतिर जाँदै गरेका साइँला दाइलाई छोराछोरीले भने -" बाबा , बाबा ! है के , बजार गएर आउँदा मिठ्ठो खाले आँप लिएर आउनुस् है ? कस्तो आँप खान मन लागेको छ हामीलाई | यो त आँपको सिजन हो | हामीले एकचोटि पनि यो सिजनमा आँप खान पाएका छैनौं |" छोराछोरीका कुरा सुनेर "हुन्छ " भन्दै साइँला दाइ बाटो लागे |
बजार पुगेपछि एउटा टन्न फलफूलले भरिएको ठेलानिर गएर सुस्केरा लाउँदै सोधे -" ए भाइ ! यी आँपहरु कति कति दामका हुन् भन त ?" ठेलामा सजिएका आँप एक एक गर्दै सुँघेका साइँला दाइको हरकतले ठेलावालाले कराउँदै भन्यो -" ओहो ! दाइ त्यसरी सबै निकाल्दै सुङ्दै गर्दा त आँप गिलो भएर बिग्रन्छ | लिने भए लिइहाल्नोस् यसरी धेरै नचलाउनुहोस् |"
" लौ ! कुन आँप हो भनेर सुङ्न नि हुन्न र ? कि आँपको वजन घट्छ मैले सुङ्दा ? " साइँला दाइले झर्किंदै प्रश्न गरे | ठेलावालाले अलि नम्र हुँदै भन्यो होइन दाइ बिग्रीयो भने घाटा लाग्छ भनेर हो | आँप त हेरेर थाहा हुन्छ नि कुन हो भनेर | यी यो माल्दा आँप हो | एक किलोको १५० रुपैयाँ पर्छ | यताको यो दसहरी आँप हो | मिठो छ | किलोको १२० रुपैयाँ पर्छ | अनि यो हेर्नुस् यहीँको लोक्कल आँप हो | लानिभए ६० रुप्या किलोमा लानुस् |"
सबै आँपको मूल्य बुझेपछि साइँला दाइले स्टाकोटको खल्तीबाट खुद्रा खाद्री गरेर ६० रुपैयाँ पुर्याएर लोक्कल आँप साइकलमा झुन्ड्याउँदै घरतिर लागे |
घरमा पुगेका मात्रै के थिए "बाबा आउनु भो , बाबा आउनु भो ! आँप ल्याउनु भो ! " भन्दै छोराछोरी मुख मिठ्याउँदै झोलाबाट आँप झिकेर धोएर खान थाले । आँप नखाँदै मिठ्याएको मुख , खाएपछि भने अमिल्लिएको थियो !!
लघुकथाः बाबुको सम्पति
हेमलता उप्रेती
“आजको कार्यक्रममा बरिष्ट समाजसेवी भानुभक्त शर्माले स्थानीय बृद्धाश्रमको विकासको लागि २५ लाख नगद सहयोग गर्नु भएकोमा वहाँलाई सम्मान गरियो ।”
साथीहरुसँग तास खेलीरहेको गौरव जुरुक्क उठ्यो । रेडियोबाट आइरहेको सो समचारले उसलाई चिन्तित बनायो । करोडौ सम्पतिका मालिक भानुभक्तको एक्लो छोरो गौरब महाअल्छि बेकम्मा र कुलतमा फसेको थियो ।
करिब एकबर्ष अगाडिदेखि बाबुको खर्च गराइ र समाजसेवा तथा दानमा लगानि देखेर उसको मनमा चिसो पसेको थियो । आजको समाचारले त झन् उसको होसै उड्यो । उसले मनमनै सोच्यो “बुढाले त सबै सक्छन् कि के हो ? आज चाहीं कुरा नगरी भएन ।”
साँझमा बाबुछोराको कुरा शुरु भयो । “हैन बुबाले आज पनि २५ लाख दान दिनु भएको हो ?”
“हो नि छोरा । आज म धेरै खुशी छु । सिङ्गो समाजले मलाइ सम्मान गर्यो । अभिनन्दन् गर्यो । दुःख पाएका बृद्धहरुकालागि सहयोग गर्न पाएकोमा मलाई आत्मासन्तुष्टी मिलेको छ ।”
“यो बर्षभरीमा हजुरले करोड भन्दा बढी दान दिई सक्नु भयो ।”
“ठीक भन्यौ छोरा । यो बर्ष मैले १ करोड १० लाख दान गरें । आज म खुशी छु । किनकी तिमीपनि हिसाब राख्दै रहेछौ । मैले यत्तिका सम्पति कमाउँदा तिमीले कसरी कमाउँनु भयो भनेर कहिल्यै सोधेनौ तर आज खर्च गरेको त चासो दियौ नि ?”
छोरा मौन रहेको मौकामा उनले थपे,“पैसा र पानी उस्तै हो छोरा । जमाएर राख्यो भने दुषित हुन्छ । यीनलाई त बग्न दिनुपर्छ ।”
गौरबले केही बुझेन । तथापि फेरि भन्यो, “यत्रो पैसा ब्यार्थमा खर्च गर्दा हजुरलाई छोराको भबिष्यको अलिकति पनि याद आएन ?”
भानुभक्तले गम्भिर भएर भने, “याद आएको थियो । तर सँगसँगै छोराको बलिष्ठ शरीर, हात खुट्टा र बुद्धि बिवेकयुक्त दिमागको पनि याद आयो । मैले उसको सुन्दर भबिष्यको लागि गरेको लगानि र दिइएका अवसरहरुको पनि याद आयो । कम्तिमा आत्मनिर्भर हुनुपर्छ भनी बारम्बार उसलाई दिइएका ज्ञान र चेतनाहरुको सबैभन्दा बढी याद आयो । मलाई समाजसेवी बनाउन प्रेरणा दिएकोमा तिमिलाई पनि धेरै धेरै धन्यवाद छोरा। मेरो यो अभियान अझै जारी रहनेछ।” छोरो मौन रह्यो।
इलाम नगरपालिका ७, इलाम ।
मितिः २०७७/०३/१९
लघुकथा_प्रभाव
गङ्गा आचार्य
निर्जलाले फेसबुक चलाइरहेकी थिइन् ।म्यासेन्जरमा एउटा लामो म्यासेज आयो।
``गुरुआमा , मैले ह्जुरलाई सम्झिरहन्छु। सम्झनुपर्ने विभिन्न कारण मध्य त्यो दिनको घटनाले मलाई झक्झकाई रहन्छ र मैले हजुरलाई बिर्सनै सक्दिन ।
त्यो दिन मेरो साथीको पेन्सिल मैले नै चोरेको थिएँ।हजुरले मेरो झोला छामेर एकोहोरो मलाई हेरिरहँदा डरले म थुरथुर भएको थिएँ।अब पिटाइ पनि खाने भइयो। बेइज्जत पनि हुने भयो।तर परिस्थिति त्यस्तो भएन। हजुरले बेन्च मुनि खोजे झैँ गर्नुभयो। त्यहीँ भेटे झैँ गरि उसलाई उक्त पेन्सिल दिँदै भन्नुभयो ।`यति ज्ञानि साथीलाई त्यत्तिकै चोर भन्नु हुँदैन नि।´ अनि एक्लै पारेर मलाई चोर्नुको कारण सोध्नुभयो। अब देखी नचोर्नु है भन्दै पेन्सिलको प्याकेटै किनेर दिनुभयो ।जसमा इरेजर र सापनर समेत थिए। गुरुआमा,एउटा पेन्सिल तीन टुक्रा पारेर महिनौं पुर्याउनुपर्ने अभावै अभावमा हुर्केको म । कक्षा पाँचमा आइपुग्दा त्यो पहिलो दिन थियो मैले सिङ्गो पेन्सिलले लेखेको।त्यो दिन मेरो खुसीको सिमा थिएन । त्यसपछिका दिनमा मैले कहिल्यै कसैको केही चोरिन् ।´´
शिक्षकबाट अवकाश जीवन बिताइरहेकी निर्जला म्यासेज पढेर अत्यन्तै भावुक भइन्।एकाएक आँखा रसाएर आए ।उक्त विद्यार्थी जेहन्दार पनि भएकोले उनको मस्तिष्कमै थियो।उसको बारेमा तत्काल सोधपुछ गरीन् र आँसु पुछ्दै भनिन् । `` बाबु,मलाई थाहा नै थिएन ।तिमीलाई यस्तो प्रभाव परेको रहेछ ।´´
उक्त विद्यार्थीले भन्यो।``मैले हजुरलाई कहिल्यै बिर्सने छैन ।विशेष गरि आज त झन........।´´
निर्जलाले सवाल गरीन् ।``आज किन?´´
जवाफ पाइन् `` गुरुआमा ,आज गुरुपुर्णिमा हो नि त।´´
लघुकथा:मित्रता
प्रेम पुन मगर
म एकदम पीडित थिएँ। ऋणमा चुर्लुम्म दुबेको थिएँ।लाग्थ्यो संसारमा म भन्दा दुखि मान्छे कोहि छैन।
आहा! त्यतिखेर साथीहरू मलाई देख्दै झुम्मिन्थे।
कसैले भन्थे "नआत्ति न तेरो पनि दिन आउला नि! "
अर्कोले भन्थ्यो " आखिर बोट के का लागि लगाइन्छ फल खान त हो"
"तेरो जीवन नर्कतूल्य बन्यो" तेस्रोले भनिहाल्थ्यो।
"अहिलेको जमानामा कसैले कसैलाई हेर्दैनन् बाइ! तैँले पछि बुढेसकालमा दुख पाएनस् भने मलाई भन्नु" अर्कोले कटाक्ष हान्थ्यो। मेरै वरिपरि झुम्मिरहन्थे केहिन केही भनि रहन्थे।
समय बित्न के बेर? छोराछोरी जागिरे भए। ऋणहरु पनि सकियो। म तन्दुरुस्त र खुशी रहन थालेँ।
ति मान्छेहरु मेरो छेउमा आउनै छोडे। बोल्न मन लागेर म छेउमा जान्छु तर्किएर भाग्छन्।
"पहिला तिनैमध्य कतिले मलाई हाँसोमै उडाउथे। कतिले बिचारा भन्थे।"
अलि आत्मिय मित्रलाई एकदिन भनेँ
"यि फलानो फलानो मित्रहरु पहिला पहिला बोल्न मन नलाग्दा पनि मैलाई जिस्क्याई रहन्थे। आज भोलि किन हो कोहि पनि बोल्नै मान्दैनन् "
"तलाई थाहा छैन आजभोलिका मान्छेहरु अरुको दुख देखेर जति खुशी हुन्छन्। त्येै मान्छेलाई खुशी देख्यो भने उत्तिकै दुखि हुन्छन्" उसले भन्यो।
ढोरपाटन नगरपालिका २ बागलुङ
***लघु कथा-"आरक्षण"
***रमेश मोहन भट्टराई
हाजिरी किताब हाकिमको कोठामा हुन्थ्यो।
सहायक रामप्रसाद शर्मा हाजिर जनाउन हाकिमको कार्य कक्षमा पस्यो।हाकिमलाई नमस्कार गरो।हाजिरी किताब पल्टायो।उस्को हाजिरी किताबमा रातो क्रस लागेको थियो।
१०.१५बजे सम्ममा हाजिरी जनाईसक्नुपर्ने नियम थियो।नत्र हाजिरी किताबमा क्रस लाग्थ्यो।यस्तो क्रसले कर्र्मचारी-कार्य मुल्ल्याङ्नमा नराम्रो असर पार्थ्यो।
रामप्रसादले घडी हेरो१० बजेर१७ मिनेट भएको थियो।
उस्ले हाकिमलाई सोध्यो-"सर मेरो हाजिरी कोष्टमा क्रस लागेछ म के गरौं ? २ मिनेटमात्र ढिलो भएकोछ ।"
"ढिलो त ढिलो हो रामप्रसादजी चाहे १मिनेट होस् वा १ घण्टा।ढिलो भएको समय ५ मिनेट जनाएर हाजिर जनाउनुहोस वा बिदा बस्नु होस्"-हाकिमले घडी हेर्दै भने।
हाजिरी स्विकृती माग्दा माग्दै अरु 3 मिनेट थपिएर ५मिनेट ढिलो भईसकेछ।
"म छुट्टी बस्छु सर"-रामप्रसादले भन्यो।उ बाहिरियो।
हाकिमको कार्य कक्ष बाहिर रामप्रसादको शकुन्तला ताम्राकारसंग भेट भयो।"नमस्कार म्याम।भर्खर आउँदै हुनुहन्छ?"-उस्ले हात जोड्यो।
"नमस्कार भाई आज अलिक ढिलो भयो"-शकुन्तला हाकिमको कार्य कक्षभित्र पसी।
रामप्रसाद शकुन्तला मातहत काम गर्थ्यो।
रामप्रसाद बिदाको निबेदन लेख्दै थियो शकुन्तला आई पुगी।
"बिदा बस्न लागेको ?"-शकुन्तलाले सोधी।
"हो म्याम २ मिनेट ढिलो भएकोले मेरो हाजिरी किताबमा क्रस लागेछ "-निबेदनमा दस्तखत गर्दै रामप्रसादले भन्यो।
" होर ? म तिमी भन्दा ढिलो आएकी थिएँ मेरोमा त क्रस लागेको छैन त !"-शकुन्तलाले आशार्य मानी।
रामप्रसाद केही बोलेन उ हाकिमको कार्य कक्षमा गयो।
हाकिमको टेबुलमा बिदाको निबेदन राख्दै भन्यो-"सर शकुन्तला म्याम म भन्दा ढिलो आउनु भएको हो उहाँको हाजिरी किताबमा त क्रस लागेको छैन रे ! मेरोमा चाँहीं किन सर ?"
हाकिम थोरै मुस्कुराए। उनले भने -"तेत्तिपनि थाहा छैन जनजाती, सीमान्तकृत र महिलाहरुलाई आरक्षण छ।"
२०७७/०३/१९
लघुकथा:- सच्चा गुरु
रचना शर्मा
निरु बिहानै उठेर कुचो लाउँदै थिई , पल्लो घरका छिमेकीकोमा खैला बैलाको आवाजले कान ठाडो पारेर सुनी । कुरो त सामान्य नै रहेछ । मनमनै " ईन्डियनका सल्लाह र नेपालीका हल्ला उस्तै हुन् " भन्दै कामतिरै लागी । उनीहरुका हल्ला रुपि सल्लाहले आज गुरु पूर्णिमाको दिन भएको थाहा पाई ।
गुरुलाई श्रद्धा पूर्वक सम्झिने , सम्मान गर्ने दिन । वरिपरिका फलफूल र मिठाइ पसलहरुमा पनि निकै घुइँचो लागेको थियो ।
निरुले पनि २ किलो स्याउ किनेर ल्याई । गुरुलाई भेट्न जाने निर्णय गरी । तर ऊ निकै दोधारमा परी ।" यतिका गुरु छन् , अब यो फल कुन गुरुलाई लगेर दिउँ ?" मनमनै आफैसित प्रश्न गरी ।
जीवनको पहिलो गुरु आफ्नी आमालाई सम्झी । आफु सानै छँदा छोडेर आमा अर्कैसित पोइला गएको सम्झिंदै आँखाबाट तुरुक्क आँसु झारी । फेरि दोस्रो गुरु आफ्नै बुवा सम्झी । सौतेनी आमाको कुरा सुनेर घरबाट नै निकालिदिएको सम्झेर फेरि तुरुक्क आँसु झारी । मन सम्हाली । कामको खोजीमा भौंतारिंदा काम दिएर गुन लाएका साहुलाई सम्झी । पटक पटक यौन दुर्व्यवहार गरेर मानसिक पीडा दिएको सम्झी । यसै गरि जस जसलाई सम्झिन्छे उसैप्रति सम्मान र इज्जत भाव आउनुको साटो निरुलाई उल्टै उनीहरुका दुर्व्यवहार र उनीहरूले गरेका नकारात्मक कामको मात्र सम्झना आयो ।
उसले फेरि मनमनै सोंची, "संसारमा आफ्नो लागि सच्चा गुरु त आफै पो रहेछ । जति पीडा भएपनि आफ्नो मन सम्हालिदिने आफै नै रहेछ । अरुका कुरा जति सुनेपनि निर्णय लिने भनेको त आफू स्वयंको नै रहेछ ।" त्यसपछि गुरुलाई दिन भनी ल्याएको स्याउको झोला उठाई । एउटा दाना झिकेर आफ्नै मुखमा राखेर गड्याम् गड्याम् चबाई ।
लघुकथा:- पुनर्रजन्म
तारा के:सी
" म पनि जान्छु अब तिमीसँगै। म अब फर्किन्न"
अामाले जिद्दी गरिरहिन्।
" तपाईं अहिले जान मिल्दै मिल्दैन अामा! त्यहाँ बस्ने ठाउँ छैन।म त अरूसँगै मिलेर बसेकाे छु। तपाईं फर्किनुस्।चिनीयाँले बाेलाई रहेकिहाेली।"
त्यति भनेर ऊ फर्केर नहेरी पर पुगी ।उसका साथीहरू अलि पर पर्खिरहेका रहेछन्। तिनीहरूले सुरिलाे स्वरमा गाएकाे गीत पर पहाडकाे फेदीसम्म पुगेर ठाेकिन्थ्याे। किशाेरी ती केटीहरू चाैबन्धी चाेलाे फरिया लगाएका र कम्मरमा सेताे पटुका बाँधेका , कपालकाे चुल्ठोमा राताे फूल सिउरिएका स्वर्गका परी जस्तै देखिन्थे ती नानीहरू। ऊ पनि त्यहि हुलमा गएर मिसिई।
सबैजना पक्तिबद्व सिपाहीका हुल जसरी लहरै बाटाे लागे। धमिलाे धमिलाे हुँदै तिनीहरू हराउदै गए। एकचाेटी पनि फर्केर नहेरी हिडेकी मसला धेरै पर पुगेपछि फर्केर हात हल्लाउदै भनी;
" अा.........म्मा" तपाईं फर्किनुस्। म पछि अा......उँला।"
बाटुली सपनाबाट झल्यास ब्यूझिन्। बाहिर झलमल्ल घाम लागिसकेकाे रहेछ। दस बर्ष अगाडि साेह्र बर्षमात्र टेकेर बितेकी छाेरीलाई सपनामा देख्दा उनका अाँखाबाट बलिन्द्र धारा अाँशु बगेका थिए। राेईरहेकी श्रीमतीलाई देखेर बाटुलीका श्रीमानले भने;
" खुशीकाे खबर छ। हाम्री चिनियाँ छाेरीकाे अाज छाेरा जन्मियाे रे। हामी त हजुर बा र हजुर अामा पाे भयाै त"।
बटुलीले अाँशु पुछ्दै भनिन्;
" हेर्नुस् हजुर अाज हाम्री मसला छाेरीकाे पुनर्र जन्म भयाे ।"
लघुकथा : लुम्बिनी,सगरमाथा र भानुभक्त आचार्य
---धनराज गिरी
--" यारा कृपाचार्य,भेट नै हरायो त ? हामी भेट हुनुहुन्न भनेर कुनै विधानमा लेखिएको त छैन होला ?"टाढाबाट फोन गर्यो मित्र आलोकनाथ देवकोटाले |" ओहो हो हो .....म एकदम व्यस्त हो यारा,कहिले के कहिले के, भात खाने फुर्सद पनि छैन |"उत्तर आयो आचार्यको |
"अब रामायणको खानदान,भानु जयंती नजिक, लौ लौ बन्धु, आफू त देवकोटा भएर पनि पनि डिल्लीबजारको नभएर सिल्लिबजारको परियो ......महादेव जस्तो,न अगाडि कोई ...नपछाडि कोई ...... "
"ह्या .......यी सब कुराको के अर्थ ? जे हो वर्तमान हो |लुम्बिनी,सगरमाथा आदिको नाम लिएर कहिलेसम्म इज्जत धान्ने ? अरूलाई आलम्ब बनाएर चल्छ र जिन्दगी ?मेरो कामले मेरो पहिचान हुने हो |म कसको खनाति,कसको नाति,कसको छोरो .....के अर्थ ? इतिहास भजाएर खानेहरूको कुनै इतिहास हुन्न |म आफ्नो कर्मले केही हुन चाहन्छु |मेरो प्रतिश्पर्धा मसित हो |कोही पनि मेरो दुश्मन होइन र दोस्त पनि नहुनसक्छ |मैले हिजो के गरें,यसको लेखा पनि राख्नुछैन |अतीतजीवी पनि होइन म |स्रष्टा समाजसित रमाउने बानी पर्यो |देवकोटाजी,मेरो पारा यही हो |"
"मैले यही भएर मन पराएको .........कुरो मिल्यो यारा !अहिलेलाई विदा मागें है !"
लघुकथा : को गुरु ?
----धनराज गिरी
----" यति पनि न आउने त ?" सामान्यभन्दा सामान्य कुरा पनि मेसो नपाएको देखेर गुरु ज्ञानवीर ढकालले आफ्नी चेली धनमाया वनसित अलि गुनासो व्यक्त गर्यो | चेलीको अनुहारको भाव सामान्य,"सर,हजूर पनि कस्तो सोझो गुरु हो,सबैलाई आफू जस्तो मानेर हुन्छ त,नआएपछि आएन, बुझाउनेले अलि राम्रोसित बुझाउन परेन र ? अरू गुरुहरूको योग्यता हजुरलाई थाहा छ, हजुरले पनि अलि ढिलो पढाए राम्रो,कमजोरलाई मर्कापर्छ हजुरको शैलीले |भुवन र उत्तमजस्ता त होइनन् नि सबै !"त्यसपछि ढकाल मास्टरले चेलीको कुरालाई मनन गरी आफ्नो शैली परिवर्तन गर्यो र १०० % विद्यार्थी,त्यो समयको फलामे द्वार पार गर्न सफल भए | धनमायाँले पनि उसलाई ४ कक्षादेखि कलेजको पहिलो द्वारसम्म छोडिनन्| कुरो ३४ बर्ष अघिको हो |
---ढकाल आफ्नो जीवनसित सन्तुष्ट थियो | हाईस्कूलको जागीर --अमृत --सबको हाई हाई |एक दिन धनमायाँ र ढकाल सरको भेट भयो,बजारमा |"सर,हजूर यसरी जीवनभरि स्थिर भएर पोखरीको पानी हुने मान्छे होइन | आफ्नो अन्तरनिहीत शक्तिलाई पहिचान गरी अग्रगामी हुनुपर्छ |खुरुक्क "एम ए "पढ्न जानुहोस्" साधिकार आदेश पो --चेलीको | सम्पूर्ण खान्दानको गुरु हो --ढकाल,एक किसिमले पारिवारिक अभिभावक पनि | चेलीको प्रेरणा एकातिर,अर्कोतिर जिल्लाको सरकारी कलेजमा "एम ए "आयो |खुरुक्क भरना भयो ढकाल | आरामसित उत्तीर्ण -----र तान्यो कलेजले |एउटा प्राइमरी टीचर जागीर बाट अवकाश लिंदा ----प्रोफ़ेसर ज्ञानवीर ढकाल हुनपुग्यो र यतिखेर साहित्य र फेसबुकको दुनियाँमा "आयातुल्ला रूहुल्ला खोमेनी "वा अर्को " सकारात्मक वीन लादेन "हुन पुगेको छ | एक आतंक --प्रेमिल --भएको छ ---इन्द्रेणी विविध | केहीको लागि बालुवा र धेरैको लागि जेरी ,मालपुवा,खीर र हलुवा |जे माने पनि हुने ---आलु !
----आज गुरु पूर्णिमा,विगत सम्झियो, आफ्ना गुरुहरू सम्झियो,चेलाचेली सम्झियो र धनमायाँलाई सम्झिएर उसको मनमा कुरा खेल्यो,"गुरु को ?" "को गुरू ?" "After having taught for 42 years,I came to know that I was just a student.You were my teachers."कलेजमा अंतिम कक्षामा आफूले भनेको कुरा सम्झियो |
Comments
Post a Comment
Thanks for your concern. We would be very grateful to hear and respond you. ♥ ♥