लघुकथा :- चोखो
तिलक तारामी “रेशाली”
मेरो साथी बलुको घरमा सानो धार्मिक कार्यक्रम थियो। म उसको घर पुग्दा उसका छिमेकी र इष्टमित्रहरू पनि जम्मा भइसकेका थिए। सबै मिलेर पूजाको तयारी गर्दै थिए। पल्लो गाउॅंका पण्डित उमानन्दलाई पुरोहितको रुपमा बोलाइएको थियो। उनि पनि विहानको आठ बजे नै आइपुगेका थिए। हेर्दा निकै हृष्ट पुष्ट र खाइलाग्दो थिए। लामो टुप्पी र बटारिएको जुंगा उनको पहिचान थियो। उपस्थित सबैले उनलाई बाजे भनेर सम्बोधन गर्न थाले।
०००००००
पूजा पनि शुरु भयो। बलुका सबै परिवार पुरोहित बाजेले जे जे भन्छन्, त्यसै त्यसै गर्दै गए। हामीले पनि उनिहरूलाई सघायौं। लगभग एक बजेतिर पूजा सकियो। सबैले टिका ग्रहण गर्ने र प्रसाद खाने काम भयो। त्यसपछि सबैले खाना खाने तरखर गर्न थाले। अंकलले आन्टीलाई बोलाएर बाजेलाई पनि खानाको ब्यवस्था गर्न लगाउनु भयो।
००००००००००
आन्टीले काॅंसको थालीमा भात, तरकारी र अचार अनि कचौरामा दाल ल्याएर टेबलमा राख्दै भन्नु भयो, “ल बाजे, भुजा ज्युनार होस्।”
पुरोहित बाजे कुर्सीमा बस्दै बोले, “तिमीहरूले पकाएको खाना जुठो हुन्छ। नचोख्याइकन मैले खान हुन्न।”
“हैन बाजे! मैले आज विहानै नुहाएर मात्र पकाएकी हुॅं। तरकारी, अचार सबै आजै बनाएको हो।”आन्टीले भन्नु भयो।
“तिमीले मेरो कुरा बुझिनौ। जाऊ एक कचौरा घिउ तताएर ल्याऊ ।” बाजे बोले।
आन्टीले घिउ तताएर ल्याउनु भयो।
“त्यही भातमा खन्याई देउ ।” बाजेले आन्टीलाई अह्राउनु भयो।
“हवस !” भन्दै आन्टीले सबै घिउ भातमा खन्याई दिनु भयो।
“बल्ल यो खाना चोखो भयो। अब त यो खाना मलाई पनि चल्छ।” भन्दै बाजेले कपाकप खान थाल्नु भय
लघुकथा: फाइलको डोरी
मनोज रेग्मी
पोखरा
------------------------------------------
कार्यलयको ढोका ढोकामा सानो काठको बोर्ड थियो।
बोर्डमा कि त " भित्र" कि त "बाहिर" लेखिएको हुन्थ्यो। त्यो बोर्ड बाहिरबाट सजिलै देखिन्थ्यो। "बाहिर" लेखिएको बोर्ड भएमा ढोका पनि बन्द हुन्थ्यो—त्यसको अर्थ हुन्छ भित्र कोहीपनि छैन।
त्यो दिन धन्न बोर्डमा "भित्र" लेखिएको थियो। ढोका पनि खुल्लै थियो। भित्र छिर्दै गर्दा ढोका बाटै नमस्ते गरें।
कुर्सीमा बिराजमान मनुष्य टेबलमा टाँसिएको नजर नहटाई एक हातले नमस्ते फर्काउॅंछन्।
"बस्" भन्ने आग्रह आउॅंछ कि भन्दै म त्यसै कुर्दै उभ्भिरहन्छु।
नसोधी बस्दा चस्माको फ्रेमबाट निस्केर आखाँ फुत्त बाहिर निस्कन लागे जस्तो "के हो महाशय, यस्सै बसिदिने?" भन्ने भावको कर्के हेराइ साह्रै डरलाग्दो हुन्छ।
केही नबोली आफ्नो फाइल तेर्स्याउॅंछु।
"देखेनौ काम गर्दैछु!"भन्ने आशय बोकेको हाउभाउ।
पालो आउला भन्दै कुर्दैछु।
घडी हेर्यो, घडीको सुई भर्खर अण्डा पारेर हिंडेको सुत्केरी गोही झैं बिस्तारै घिर्सीरहेछ।
उफ्! कस्तो गर्मी!
कोठामा सिलिड़फ्यान नि छैन।
एउटा भएको टेबल फ्यान पनि घिटिघिटी सास फुस्किन लागे झैं हाकिमलाई सकसले हावा फ्याकिरहेछ।
हाकिम बसेको ठाँउबाट केही उठ्न खोजे झैं गर्छ, फेरि बस्छ।
कोठामा दुर्गन्ध फैलन्छ।
हाकिमले अगि छोडेको रै'छ सायद।
तर उल्टै मलाई नै हेर्छ, शंकाको दृष्टिले।
मलाई फसाद।
बल्ल सोध्यो-" बाजे, के भो? के काम हो?"
"यो सानो काम थियो हजुर!", एक्कासी उज्यालिएको अनुहार सहित फाईल पेश गर्छु।
फाईल पल्टाउने क्रममा पहिलो पानामै उनको आखाँ, सास र हात सबै रोकिन्छन्।
" यो फाईलमा पन्चिंग गरेर डोरीले बाँधेर ल्याउनुस।"-फाइल थमाउदै उन्ले भने।
" एउटा हस्ताक्षर त हो, गर्दिनु न डोरी त पछि हाले नि हुन्छ नि हैन र?"-म बाठो हुन्छु।
" प्रकिया नमिली गर्न मिल्दैन, काम सक्ने हो भने त्यति गरेर ल्याउनुस्, नत्र मिल्दैन।"- औपचारिक रुपमा अनौपचारिक धम्की आयो।
कस्तो धागोको नि प्रकिया हुदों रै'छ भन्ने त्यही दिन थाहा पाएँ।
बाहिर निस्कदा देखें, मेरो दायाँ पट्टी रहेको पर्खालमा घाम तापेर बसेको छेपारो मलाई नै हेर्दै टाउको तलमाथी गर्दै मलाई जिस्क्याइरहेछ।
धागो हालेर फर्किदा, हाकिमको बोर्डमा "बाहिर" लेखेको थियो। कोठामा चुकुल लगाएको थियो।सोचें–अहिले त समय गोहीबाट चितुवा भएर भागेछ।
त्यो दिन नी काम बनेन।
लघुकथा-"पुनरावृत्त
धुलिखेल जानको लागी बस चढेँ,बसमा सार्है भिड रहेछ।म वृद्ध र अधवैंसे महिला बसेको एक सिटमा अडेस लागेर उभिएँ।महिलाले घरीघरी मलाई हेर्दै केहि सम्झन खोजे जस्तै गरिन्।केहि समय पछि वृद्ध ओर्लिए,त्यो सिटमा म बसेँ।ति महिला कता कता मैले पनि कतै भेटेको हुनुपर्छ जस्तो लाग्यो तर सोध्ने आँट गरिन।
"हजुरको घर कता हो? मैले कतै भेटेको हुनुपर्छ तपाईंलाई" संकोच मान्दै सोधिन ति महिलाले।
"मेरो टोखा हो,हजुरको नि?" मैले पनि सोध्ने मौका पाएँ।
"मेरो चुनिखेल हो" उत्तर आयो।
म झसङ्ग भए उनको अनुहार पनि अलि बदलिएको आभास गरें।लाग्यो यि दुबै स्थानको नाम सुन्ने बित्तिकै मानस्पटमा झट्ट पुरानो आकृति आयो।
"ओहो! सत्र वर्ष पछि……"
"सायद हाम्रो प्रेम अनुहारमा थिएन,त्यसैले अनुहारले चिन्न सकिएन।" मेरो मुखबाट झट्टै शब्द निस्कियो।
"मैले मेरो श्रीमानमा तपाईं खोजिरहें कहिल्यै भेट्टाइन,यहीँ कारण हामि संगै बस्न सकेनौ।"उनले म तिर नहेरी भनिन् ।
"मैले पनि त हरेक स्त्रीमा तिमि खोजें,भेट्टाउन सकिन र यसै बसें।" म पनि अतितमा डुबें।
"अहिले कता हिड्नु भो?"उनको प्रश्न आयो।
"मेरो एकचालीस वर्षमा बिहे हुदैछ, त्यसैको क्रममा धुलिखेल जादैछु।तपाईं नि?"
मैले यति भनिसक्दा उनको अनुहारमा बादल लागेको प्रष्ट देखें।मैले उनमा सत्र वर्ष अगाडिको "म" पाएँ।
"मेरो मामा घर छ यता।आउनु भनेर हत्ते गरें ।"उनको बोलि रोकियो।
बस आफ्नै गतिमा चल्दैछ।हामी दुबै चुपचाप केहि सोच्दैछौ।
बस रोकियो,उठेर झर्ने ठाउँ आएको इसारा गरें र फेरि एकपटक हामी बासी मोहि जस्तै अमिलो मन बनाएर छुटियौं।
लघुकथा : अनुहार
धनराज गिरी
---जागिरको सिलसिलामा उनी यो शहर आएकी हुन्| साहित्यमा पनि लगाव भएको हुनाले पूर्वी नेपालको यो शहरमा उनलाई समय बिताउन त्यति मुस्किल भएन | "मुहार पुस्तिका "अर्को साथी | उमेरले जे जे भने पनि उनी हेर्दा "रिजेक्ट "गर्नुपर्ने खालकी भने होइनन्| उही शहरका केही पुरुष पात्र पनि मुहार पुस्तिकामा जोडिए| "पुखली "उनले पाएको विशेषण |
--"नमस्कार अपराजिताजी !" बिहानै एक पुरुष पात्र,इन बक्समा |
"नमस्कार मान्यवर !"उनको शैली |
" भेटेर गफ गर्न मन थियो |" पुरुष पात्र |" कस्तो मूर्ख रहेछ,के काम छ र गफ गर्न्ने ? कि आइमाई देखन नहुने हो " मनले यस्तो सोचे पनि शिष्ट भएर प्रस्तुत हुन विवश," के काम थियो होला मान्यवर ?"
"यसो टाइम पास हो,हामी दुई नै एक्लो नि,आखिर हामी मान्छे,साथी ---साथ,होइन र ?" " गधा, तेरो साथ किन चाहियो मलाई ?यति धेरै लेख्नु छ,किताब पढ्नु छ |किन घाँस हालेको हो ?"मनले फेरि कड़ा सोच्यो |एक --दुई पुरुष पात्रले उनको उदारताको नाजायज़ फाइदा लिन पहिले पनि खोजेका हुन्---उनी आफ्नो मार्गमा |"पुरुष "उनको खोज होइन |"मन मिले पो ........मेरो भावना बुझे पो ......"उनको तर्क |
"मान्यवर,म अलि व्यस्त छु, पछि कुरा गर्ने है !" उनले "बाई " टाइप गरिन्| उता हिस्स !!
---शनिवारको दिन थियो |आज साहित्यिक जमघट थिएन |डेरामा अपराजिता एकली | ऊ आयो --खबर नगरी आयो |" ओहो,मान्यवर ...वेलकम ...खबर त गर्नुपर्छ |"
"मनले आफ्नो मानेपछि केको खबर गर्नुपर्यो र हजूर ?"चिल्लो घस्यो |
"मर्लास् !"मनले यस्तो सोचे पनि मुसुक्क --उनको बानी |चिया,नास्ता --जे थियो |
" अपराजिताजी,के म ..........." बोल्न सकेन,किन कि उनको हेराइमा असीम घृणा अनुभूत गर्यो |"के भन्नु छ,ढुक्कसित भने हुन्छ मान्यवर,केही फरक पर्दैन !"उनले नै अलिकता हौसला दिएजस्तो गरिन्,मान्छे चिन्नु थियो |
"१० बर्ष भयो म एक्लै बसेको |दुई सन्तान र पत्नी इंडियामा,उसले मलाई निकाली,खोई किन हो ?हजूर पनि एकली ....यही भएर .....हामी दुई ......कुरो उही .......लैला मजनू ....प्रस्ताव हो .....हिम्मत गरेर आएको हूँ आज !प्रेम अपराध होइन होला !"
"अनुहार !थुक्क साले !!यही अनुहारले प्रस्ताव राख्ने ?"मनमा आगो ...तर शिष्ट भएर," दाजी,म हजुरको पियारी अनुजा मात्र बन्न सक्छु |भोलि राखी हो |आउनू है | अहिलेलाई टाटा दाजी !"अमिलो अनुहार बनाएर फर्कियो अभागी प्रेमी !
*लघुकथा : घोइरे
भोजराज रेग्मी मुखाले
कत्ती देउदेउता भाकेर , अभागीहरूको रगत र पसिना खर्चेर अनि आशा र विश्वास अर्पेर जन्मेको छोरो जुँगाको रेखी बस्न थालेदेखी जिद्धिवाल र घोइरे
हुँदै गयो । आफन्तकोभन्दा पराईको कुरा सुन्न थाल्यो । असाध्ये घमण्डी र अम्मली भएर निस्क्यो ।
आश गरेका र भर परेकाहरूलाई पर्नुसम्म पीर पर्यो । मावलका ज्योतिषी बाजेले पात्रो पल्टाए । कुण्डली बनाएर हेरे -- शनीको अढैया रहेछ । ग्रहशान्ती पूजापाठ लाए शमन हुँदै जाला , राम्रो बन्दै जाला भनेर ढाडस दिए ।
एकदिन राती करायो -" जल्ले जे भनेपनी म छोड्दिन , ल्याउँछु , ल्याउँछु ।"
त्यही भट्टीकी माइली ल्याउने भो भनेर सप्पैले लख काटे ।
अर्को दिन बिहानै करायो --" अब चैं बाँकी राख्दिन sss !" बाह्र कक्षाको दुइटा विषय बाँकी थ्यो मोराको यसपाली चैँ ईखैले पास गरेर देखाउने भो घोइरेले । सप्पैले अनुमान गरे ।
महामारीले आक्रान्त समाज बन्दाबन्दी नै रहेको बेला
एकदिन बत्ती बाल्ने साँझमा घर फर्क्यो - ऊ । एकछिन बुढीआमालाई सराप्यो र चूपचाप लाग्यो । अनि हातमा रगत लागेको खुकुरी नचाउँदै आँगनमा हल्लियो र बाटोमा निस्क्यो । तथानाम बर्बराउँदै एकचोटी आफ्नै भुँडीमा घोच्यो अनि फेरि घाँटीमा रेटेको रेटै गरेर डङ्ग्रङ्गै लड्यो यतिन्जेल छिमेकी र जोरिपारीहरू आ- आफ्ना आइफोनबाट भिडियो खिचिरहे । कसैले खबर गरेकोले प्रहरी आइपुग्यो र आफ्नो काम गर्न थाल्यो ।
तुरुन्तै थाहा भो -- उसले पैले आफ्नी आमालाई मारेको रहेछ । प्रहरीले घटनास्थलमा वार्दाती र बरामदी मुचुल्का उठायो ।
उसको अस्कोटको खल्तीभित्र आमाको नाउँको घरबारीको लालपूर्जा , बिक्रि बैनाको कागज र एकबिटो हरियो नोट रहेछ ।
*
लघुकथा - भोको पेट
- तुलसीराम खरेल।
जेष्ठको दिन छ। वातावरणमा उतारचढाव आएको सहजै देखिन्छ।एकै दिनमा तीन चार पटक सम्म आँधी हावाहुरी सहितको बर्षा हुन्छ। चार ओटा बोटका आँपहरु काँचैमा बग्रेल्ती भुँईभरी असरल्ल छरिएका छन्। लक डाउन खुल्छ र आँप बिक्री गरौँला भन्ने आमाको आशा पानीले पखालीदिएको छ। हावाहुरीपछी आमाको अनुहार त्यसैत्यसै उदास छ। छटपटी र बेचैन देखिन्छ।मेरो एसइइ परीक्षा अनिश्चित भएको छ।पढेको सबै बिर्सिए जस्तै हुन्छ। दिनप्रतिदिन कोभीड सङ्क्रमितको संख्या बढिरहेको खवरले मन भित्र तुफान चल्छ।मनको हुरीले पारेको क्षति कसलाई भन्नु भन्नु भैरहन्छ।
यसपालीदेखी एसइइ परीक्षा नलिने अनलाइन खबर आउँछ। पढाइ राम्रो थियो मेरो। क्षमता देखाएर गाउँमा हेपिएकी आमाको अनुहारमा खुसी जगाउने मन थियो।आउनै लागेको खुसीको तरङ्ग तुहिए झैँ लाग्छ। मेरी एकल महिला आमा र मलाइ गाउँलेहरुले हेपेको मलाइ कत्तिपनि मन पर्दैन।कहिलेकहीँ त यत्ति छटपटी हुन्छ की माइखोलामा हामफालेर मरौँ जस्तो। मलाइ चाउरी परेको आमाको अनुहार हेरेर त्यो पनि आँट आउँदैन्।घरमा खानेकुरा सकिन लाग्या छ।राहतमा पाएको बखडे चामल र छिमेकीले दिएका कुहिनलागेका आलु।भात खाने संझँदा खानु अघिनै डकार आउँछ।पुस्तकमा पढेको सन्तुलीत भोजनको कुरोले भोकोपेट अमीलो हुन्छ।
आमाका उमेरका गाउँका महिलाहरु भेला भएर कहिले खीर, कहिले मासु,कहिले समोसा र मम खाएका फोटाहरु अपलोड गर्छन फेसबुकमा। काकाले बिदेशबाट पठाइदिएको मोवाइलमा छिमेकीको घरको वाइफाई कनेक्ट गराएर बेलाबेला हेर्छु। त्यो पनि उनको छोराको अनलाइन क्लासमा परेको म्याथको अप्ठेरो सिकाइदिने सर्तमा जोडिएको भर्चुअल सम्बन्ध। भोकले ब्याकुल भाइले मेरो मोवाइल माग्यो र छिमेकी पारुआन्टीका खानाका परिकार,नाचेको फोटो र भीडियो हेर्यो।उसले तुरुन्तै आमालाइ भन्यो 'आमा हामी यस्तो खान कहिले पाउँछौ ?
लघुकथा:- शंकाकाे लाभ
-सुरेश कार्की
कालापानी मात्र हैन, सरकारले काली नदीकाे उद्धगमस्थल लिम्पियाधुरा सम्मकै भूभाग समेटेर ऐतिहासिक नयाँ नक्सा जारी गरिदिंदा सरकारकाे यस कार्यले सारा नेपाली हर्षले गद्गद भए । "हामी पनि अव केही भएछाै" भन्ने गर्वले कतिका अाँखाबाट त हर्षाश्रु पनि झरे । अनि तिनले सरकारकाे थाेरै नै भएपनि जयजयकार गरे ।
अाफ्नाे कामले अाएकाे अद्धभूत राष्ट्रिय एकता देखेर "हन् पहाडै पाे भत्काईएछकि" भने झै गरि सरकार पनि भित्रभित्रै खुसीले कम पुल्कत भएन ।
तर द्वापरका रामराज्यमा कसैकाे एक तुच्छ वाक्यले राज्यमा एकमत देखिएन भने याे चरम कलियुगकाे गणतन्त्रे राज्यमा त खै के ?
अतः कुरा एकपछि एक यसरी अाईहाल्याे ।
"तुक्के वाले जुन नक्सा निकाले, त कुनसा ठूलाे कुरा गरे ?"कसैले भने। अनि कसैले "नक्सा निकाल्दा जमिन फिर्ता हुन्छभने दिल्ली सम्मकै नक्सा बनाइदिए पनि हुन्छ" पनि भने ।
फेरि कतिले त हिजाेकाे अाजै जमिन पनि फिर्ता अाईहाल्ने भए त एउटा कुरा भन्दै
"के जमिन पनि फिर्ता लिन सक्छन त ?" भन्ने शंकामा माैसमी राष्ट्रवादकाे कार्य हाे याे भनेर खिसीट्याैरी बाेल्न समेत भ्याए ।
यस्तै तमाम कुरा सुन्दैगर्दा मलाई भने प्रसंगवस कुनै एउटा गफाडीले दिएकाे गफकाे याद अायाे ।
गफाडीले यसाे भन्दै थियाे -
"हम अल्लाहका खुद्ही सख्खे भाइ है ।"
याे कुरा सुनेर
"ताे तुम किसिकाे मार सकते हाे ?" भनेर कसैले भन्छ ।
"क्यू नहीभाइ देख" भन्दै गफाडीले हिड्दै गरेकाे कमिलालाई अाैलाले मिचेरै मारिदिएछ । तव-
"मार ताे सभी सकतेहाे भाइ । अगर तुम अल्लाहका खुद छाेटा भाइ हाेताे फिर बचाके भी दिखाअाे" भनेर भन्दा त्याे गफाडीले-
"वाे ताे हमारे बढे भैयाका काम है ।" भन्थाे रे ।
भनेपछि साेही ताक, यहाँनेर म मा पनि
अाज कताकता यस्तै ............................
भन्ने कुराले पाे घर गर्दैछ ।
Comments
Post a Comment
Thanks for your concern. We would be very grateful to hear and respond you. ♥ ♥