Nepalikatha29

Image
लघुकथा:- नि:शुल्क दही  ✍दिपक खनाल अगम    लुरे र उसकाे बाबाअामा नेपालको एउटा सानाे गाउँमा बस्थें । गाउँमा बसाेबास भएपनि सम्पत्तिकाे नाममा दस धुर जमिन र त्यसमा ठडिएकाे एउटा सानाे छाप्रो बाहेक पशु-चाैपाय वा गाई,भैंसी र भेडाबाख्रा केही थिएन । उसकाे बाबाअामा कृषि ज्याला मजदुरीकाे काम गर्थें ।  उनीहरूको परिवारमा मिठाे मसिनो,दुधदही, माछामासु वा तागतिलाे खुराक खान दशैं तिहार नै कुर्नु पर्थ्याे । एकै शब्दमा भन्दा लुरेकाे परिवार   सार्‍है गरिब थियाे । गरिबी र दुखकष्टबाट जतिसुकै टाढा हुन खाेजेपनि त्याे लिसाे झैं टासिएर उनीहरूको साथ छाेड्दैनथ्याे ।       नेपालकाे गाउँघरमा माेही नि:शुल्क पाइन्थ्याे। लुरे प्राय गाउँले छिमेकी जस्तैः ठुली अाम,माइली अामा, साहिंली अामा र काकी कहाँ गएर माेही मागेर ल्याउथ्याे ।   लुरे एकदिन गाउँले ठुली अामा कहाँ माेही माग्न गयाे ।  ठुली अामाले साेध्नुभयाे । ए, लुरे ! त्यरी अामा बिरामी छे हाेइन् ? हाे ठुली अामा लुरेले जवाफ फर्कायाे ।  ल अाज दही लगेर खान दे भन्दै दही दिएर पठाउनुभयाे । ऊ खुशी ले बुर्कुसी मार्दै घरमा अायाे । घर भित्र पस्नै लाग्दा दैलाेकाे ठेलामा अल्झेर दलानमा

interesting nepali story 22



लघुकथा: पश्चाताप
   - विनाेद नेपाल

ऊ एक्कासी जाेडले हाँस्याे ।
सुनेर वरपरका मानिसहरू ऊ तर्फ फर्किए ।
ऊ झनै जाेडले हाँस्न थाल्याे ।
मानिसहरू छक्क परे ।

कसैले भन्यो -'पागल जस्ताे छ'
सुनेर ऊ उनीहरुतर्फ अगाडि बढ्यो ।

'के भन्नुभाे रे ?' - उसले साेध्याे ।

जसले भनेका थिए उनकाे अनुहारको रङ्ग एकाएक परिवर्तन भयो ।
उसले उनैको अनुहारमा  हेरेर भन्याे- ' गणतन्त्र दिवस मनाउन आउनुभएको हाेला हाेईन ?

' हाे' - उनीहरूले एकै स्वरमा भने ।

'म हाेईन,'-उसले मञ्च तर्फ ईशारा गर्दै भन्याे ' उ त्यहाँ बस्नेहरु सब पागल, तिनका कुरा सुनेर ताली बजाउन तम्तयार यहाँहरु चाहिँ  महापागल'

सुनेर उनीहरू छक्क परे ।

'यहाँको परिचय ?'- उनीहरू मध्ये कसैले उसलाई साेध्याे ।

' मेराे?' ' भन्न त मलाई शहीद भन्छन् ' 'यसैका लागि भएकाे आन्दोलनमा मारिएकाे हुँ,तर अचेल बित्थामा मरेंछु जस्ताे लाग्छ'

२०७७।०२।१५

*लघुकथा :- प्रशंसा
   रचना शर्मा

सन्त नारायण  आफुलाई  निकै  महान व्यक्ति  ठान्दछन्। समाजमा निकै उदारता पनि देखाउँछन्।कसैले उनको प्रशंसा  गर्न नपाउँदै " मैले यस्तो गरें , मैले उस्तो गरें , म नभएको भए कसैले यस्तो काम गर्ने आँट सम्म गर्न सक्ने थिएनन् " जस्ता  अहम् भावले उनलाई आफ्नो र नचिनेकाको नजरमा महान भएपनि उनलाई चिन्नेहरुको नजरबाट भने गिरेका थिए ।

एकदिन गाउँलेहरु मिलेर असहायहरुलाई केही सकेको खाद्यान्न अथवा नगद दिएर सहयोग गर्ने निर्णय गरे । यो कुरो सन्त नारायणको कानमा पुग्यो। त्यसपछि उनी आत्तिंदै आएर गाउँलेहरूलाई हकार्दै भने -" तिमीहरू किन जान्ने भएका ? यो कुरो त मैले दश दिन अगाडि नै सोचिसकेको थिएँ। छलफल गर्न मात्र बाँकी थियो।" सन्त नारायणको कुराले फेरि यो पटक पनि गाउँलेहरू पछि परे।

सबै मिलेर आवश्यक सामाग्री संकलन गरी असहायलाई सहयोग गरे। सहयोग गर्नेमा उही सन्त नारायणकै नाम अग्र पंक्तिमा थियो। उनले सबैका अगाडि  - " यदि मैले यो काम बेलैमा नसोचेको भए आज यी असहायहरु यो सहयोगबाट वञ्चित हुने थिए।" भनेर माइकिङ समेत गरे।

एकदिन मन्द बुद्धि भएको एकजना गाउँलेले आफ्नो गाउँमा खडेरी परेर पानीको हाहाकार भएपछि त्यहीँ सडकको बीच भागमा नै ईनार खनाएर धारो गाडी पानी निकाल्ने योजना बनाए। यो कुरो फेरि सन्त नारायणको कानमा पुग्यो। तुरुन्तै आएर उनले भने  -" यहाँ ईनार खनेर धारो गाड्ने बिचार मैले त उहिल्यै नै गरेको थिएँ । ल छोड अब ! यो कामको जिम्मा पनि म लिन्छु।"

ठुलै प्रशंसा  पाउने आशामा कामको जिम्मा लिएको सन्त नारायणले एकदिनमै ईनार खनाउन लाएर काम फत्ते गरे । भोलिपल्ट पुलिस प्रशासन आएर "यो काम कसले गरेको हो?" भनी सोध्दा हत्त न पत्त नाक फुलाउँदै सन्त नारायणले "मैले हो हजुर सबै कामको जिम्मा लिएको  अब हाम्रो गाउँमा पानीको अभाव हुनेछैन " भन्दै हाजिर भए।

यसरी बीच सडकमा ईनार खनेर , हिँड्ने बाटो समेत अवरुद्घ गराएको आरोपमा  यसपालि भने उनी सबैको अगाडि दण्डित हुन पुगे ।

लघुकथा :- अवसर
तिलक तारामी “रेशाली”

गाउॅंको चौतारोमा ८/१० जना मान्छेहरूको जमघट थियो। कोरोना महामारी रोकथामको लागि सरकारले गरेको लकडाउनको असरका बारेमा तर्क वितर्कहरू चलिरहेको थियो।
एक ब्यापारी भन्दै थियो, “ब्यापार ब्यवसाय सब चौपट भयो।”
एक कर्मचारीको तर्क थियो, “ यो वर्ष तलब नबढ्ने भयो।”
एक ठेकेदार बोल्यो, “यो वर्ष ठेक्कापट्टा चट हुने भयो।”
एक विद्यार्थी बोल्यो, “पढ्नु परेको छैन्, हाइसन्चो छ।”
एक मजदुर बोल्यो, “बेरोजगार हुने भइयो।”
एक राजनीतिज्ञ बोल्यो, “सांसद विकास कोष काटिने हो कि भन्ने चिन्ता छ।”
०००००००००
सबैको आ-आफ्नै चिन्ता थियो। सबैले निरासाजनक कुरा गरिरहेका थिए। एक जना अगुवा कृषक भने निश्चिन्त भावमा सबैका कुरा सुनिरहेका थिए। सायद ऊ आफ्नो पेसामा कुनै नकारात्मक असर देखेको थिएन्।
अन्तिममा ऊ बोल्यो, “हामी निरासावादी हैन् आशावादी हुनुपर्छ। कोरोना र लकडाउनका सकारात्मक पक्षहरू पनि छन्।”
०००००००
सबैको ध्यान ऊ तिर आकर्षित भयो। ऊ फेरि बोल्न थाल्यो, “विदेशमा गएका लाखौं दाजुभाईहरू आफ्नै देश फर्केका छन्। उनिहरूले विदेशमा सिकेको सीप र कौशल अब यही देशमा खर्चेर यो देशको विकास गर्न सक्छौं। गाउॅंघरमा जमीनहरू बाॅंझै छन्। यी बाॅंझो जमीनहरूमा पसिना बगायौं भने विदेशबाट खाद्यान्न, तरकारी र फलफूलहरू आयात गर्नु पर्ने अहिलेको अवस्थाको अन्त्य हुनेछ।”
००००००
सबै जनाले बडो रूचीपूर्वक उसको कुरा सुनिरहेका थिए। ऊ निरन्तर बोलिरह्यो, “त्यसैले यो हामी आत्मनिर्भर हुने एउटा सुनौलो अवसर हो। फेरि यस्तो अवसर नआउन सक्छ। यो अवसर गुमाउनु हुन्न।”
अन्त्यमा सबैले उसको समर्थन गर्दै, यो विपत्तिलाई अवसरमा रूपान्तरण गर्ने अठोट गरे।
१६ जेठ, २०७७
बुटवल-११, रुपिन्देही।


लघुकथा : - ईमान्दार                                                                          

जनक सिक्देल


       रूपलालले एउटा कुकुर पालेका थिए । उनी कुकुरलाई असाध्यै मायाँ गर्थे । जहाँ जाँदा पनि अाफूसँगै लान्थे । ऊ पनि खुशी हुँदै जान्थ्यो ।  ईमान्दार अनि वफादार पनि खुवै थियो । नचिनेको मान्छे , गाइवस्तु र अन्य प्राणीहरूलाई अाँनमा पनि टप्न दिँदैनथ्यो । रातमा पनि अाफ्नो नूनको सोझो गरेर घर अाँगन् फेरो मारी मारी भुक्थ्यो ।
          रूपलाल , कुकुरको ईमान्दारी र वफादारी देखेर अौधि नै प्रसन्न हुन्थे । अनि , श्रीमतीसँग भन्थे - " हाम्रो , कुकुर त धेरै नै ईमान्दार अनि वफादार छ । "
          " धेरै नाक घोक्र्याउँनु पर्दैन् । एक दिन् ...... । " लालमतीले जवाफ फर्काईन् ।
           रूपलाल , श्रीमतीकी यस्तो कुराले झसङ्ग भए । मनमा अनेकौँ शङ्का उपशङ्का गर्न थाले । अनि , गाइवस्तुलाई सोत्तर अोछ्याएर पुनः घरभित्र पसे । श्रीमती चाहिँ कता गईन् ? थाहै पाएनन् । अनि मकैबारीतिर लागे । कुकुर पनि पछि लाग्यो । उनी पुग्दा त अाफ्नी , श्रीमती र गाउँको केटो अानन्दसँग एउटै  अङ्गालोमा बाँधिएको देखे । केटो चाहिँ , उनलाई देख्नेवितिक्कै भाग्यो ।
              श्रीमतीले चाहिँ अब मलाई , मार्छन् कि भन्ने डरले , उनको टाउकोमा ढुङ्गाले झुक्याएर हान्न के ठीक परेकी थिईन् , कुकुरले झम्टेर ,  घाँटी अँठ्यायो र लच्छारपच्छार पार्न थाल्यो । कसोकसोगरी भाग्न सफल भईन् । त्यसपछि कता गईन् ? के गरिन् ? थाहै लागेन् ।
              रूपलालले भने - " स्यावास् ! यसैगरी ईमान्दारी र वफादारीको साथ अाफ्नो , मालिकको धनजन् र घरद्वारको सुरक्षा गर्नू । मेरी श्रीमतीभन्दा , तँ  नै , मेरो लागि सच्चा ईमान्दार र वफादार भइस् । " अनि , कुकुर अघि लाएर घर अाए ।

              विराटनगर - ५
                  मोरङ्ग


गणतन्त्र दिवस (लघुकथा)
डा. श्याम न्याैपाने



"सामन्तवादी प्रवृत्ति - मुर्दावाद
भ्रष्टाचार - मुर्दावाद
हैकमवाद- मुर्दावाद
नातावाद- मुर्दावाद
कृपावाद - मुर्दावाद
प्रजातन्त्र - जिन्दावाद"

नारा लगाउँदै ऊ जुलुसकाे अगाडि हिंडिरहेकाे थियाे ।
चैतवैशाखकाे महिनाकाे चर्काे घाम, त्यसमाथि दाेपहरकाे समय । सडककाे अलकत्रा पगाल्ने चर्काे घाममा चर्का नारा चिच्याउँदै हिंड्दा उसकाे शरीर पसिनाले लुछुप्पै भिजेकाे थियाे ।

जुलुस जिल्ला प्रशासन कार्यालयतिर साेझियाे, जहाँ सुरक्षाको लागि जनपथ प्रहरी, सशस्त्र प्रहरी र सैनिकहरूका तीन घेरा थिए । सुरक्षाकर्मी हातहतियारले सुसज्जित थिए । उनीहरू चाेर अाैंलाे ए के 47 काे स्ट्राइकरमा राखेर एउटा अाँखा चिम्लँदै निशाना साँधी एटेन्सन पाेजिसनमा थिए ।
अादेशकाे मात्र पर्खाइ थियाे उनीहरूलाई ।

याे देख्दादेख्दै पनि ऊ जुलुस लिएर अगाडि बढ्याे । सुरक्षाकर्मीले माइकबाटै उसलाई अगाडि नबढ्न अनुराेध गरे पनि अझै चर्काे स्वरमा नारा लगाउँदै निर्भीक भई अगाडि बढ्याे । सुरक्षाकर्मीले पुन: अगाडि नबढ्न अनुराेध गर्‍यो तर जुलुस राेकिएन । सुरक्षाकर्मीले अश्रुग्यास फाल्याे, जुलुसले ढुङ्गामुढा प्रहार गर्न थाल्याे । गुलेलीले सुरक्षाकर्मीका अाँखा ताक्न थाले ।

अगाडि नबढ्नुहाेस् नत्र हामी हतियार चलाउन बाध्य हुन्छाैं सुरक्षाकर्मीले पुन: चेतावनी दिए  तर जुलुस सुरक्षाघेरा ताेडी अगाडि बढ्न थाल्याे ।

भुटुटुटु, भुटुटुटु सुरक्षाकर्मीका हतियार चले । जुलुस तितरवितर भाे । कति लाश परे, कति अपाङ्ग भए ।
केही दिनपछि ऊ अस्पतालबाट रिफर भयाे । उसका दुवै खुट्टा काटिएका थिए । एउटा अाँखा फुटेकाे थियाे । प्रजातन्त्र अाएछ , उसले अाफ्ना अङ्ग गुमेकाेमा कुनै दु:ख मानेन ।
*** *** *** ***
अाज गणतन्त्र दिवस । देशका प्रमुख अगुवाहरूबाट सम्बाेधन हुने भएकाेले ऊ परिवारकाे सहयाेगले कार्यक्रम स्थलमा पुग्याे ।

उसलाई त्यहाँ कसैले चिनेन । ऊ पछाडिपट्टि बस्याे
हिजाे प्रजातन्त्र माग गर्दा लाठी चार्ज गर्न प्रेरित गर्नेहरू, प्रजातन्त्रवादीकाे जुलुसमाथि भल्केकाे पानी खन्याउनेहरू, बन्दीगृहमा राजनैतिक बन्दीकाे गुदद्वारमा अकबरे खुर्सानीकाे धुलाे काेचार्नेहरू, देशका प्रमुख सम्मानित स्थानमा अाफ्नै भाइभतिजा, अासेपासे, चम्चेहरूलाई राख्नेहरू, भ्रष्टाचार गरी देशका प्रमुख शहरमा गगनचुम्बी महल ठड्याउनेहरू, समानुपातिक काेटामा श्रीमती, साला, छाेरा राख्नेहरू, अाफू अनुकूल न्याय सम्पादन नभए न्यायाधीशलाई नै गलहत्याउन खाेज्नेहरू नै गणतन्त्र दिवसका अतिथि भई मञ्चकाे अग्रासनमा बसेका थिए । सुरक्षाकर्मीहरू उनैकाे सुरक्षामा बन्दुक तेर्स्याइरहेका थिए ।

अाकाशमा बादलका ससाना कणले गर्दा सूर्यकाे प्रकाश साेझै पृथ्वीमा अाउन पाएकाे थिएन । मन्द गतिमा शीतल हावा प्रवाहित भएकाे थियाे तर उसलाई चिट्चिट् पसिना अायाे । उसले अान्दाेलनकाे दिन सम्झ्याे । गाेलीकाे अावाज सम्झ्याे । अाफ्ना सहयाेद्धा सम्झ्याे । घस्रँदै घस्रँदै एकान्ततिर लाग्याे ।

पऽरबाट मन्त्रीकाे भाषण समाप्तिसँगै जनसमूहले परर्र ताली बजाएकाे अावाज अाइरहेकाे थियाे

लघुकथा _ सेतो सिन्दूर
- नन्दलाल आचार्य

करिब अढाई शताब्दी वसन्त पचाएकी हाम्री आमा अचेल गुजधम्म परेर अग्लो आसनमा बसेकी छन्् । आफ्ना तीन कोटी सन्तानका हरेक क्रियाकलापमा नजर फ्याँकिरहेकी छिन् । निधार खाली छ तर सिउँदोमा सेतो धसेको छ ।
मुख्यतः आमाका हामी तीन जना प्रतिनिधिमूलक सन्तान छौँ । ज्ञान–विज्ञान, सुझबुझ र समझ मात्र नभएर चतु¥याइँमा पनि अरूहरूभन्दा हामीहरू नै अघि छौँ । दाजु गोरो छ, अग्लो छ । आमा उसलाई ‘हिरा’ नामले पुकार्दछिन्् । म मझौला कदको छु । ‘पराक्रमी’ नाम राखिदिएकी छिन्् । भाइ झन्डै म जत्रै र जस्तै छ । यद्यपि केही श्याम वर्णको छ । आमाले न्वारानमा उसको नाम ‘तमेष’ राखिदिएकी थिइन् ।
हामी एकै बेतका सन्तान हौँ रे । को पहिलो जन्म्यो र को पछि जन्म्यो, आमालाई पनि थाहा भएन रे । सुत्केरीको प्रशव पीडाले रन्थन्याउँदा उनी अर्धचेत अवस्थामा थिइन् रे । अग्लो–होचो भएका कारणले हामीहरू स्वयम्ले सामाजिक नाता सम्बन्ध तय गरेका हौ ।
एक पटक हामीहरू आमाकहाँ पुग्यौँ । आमाले सिउँदोमा अझै सेतो दलेको पायौँ र, तीनै जनाले एकै स्वरमा सोध्यौँ, “आमा ! सिउँदोमा के दलेको, किन मलिन मुहार बनाएको ?”
आमाले शिर उठाइन् । क्रोधले राताराता आँखा पारिन् । दाह्रा किटिन् । आमाको यस्तो प्रचण्ड रूप देखेर हामी डरले भाग्न पनि सकेनौँ । यथास्थितिमा रहन पनि सकेनौँ र, लम्पसार बनेर आमाकै पाउमा परिरह्यौँ ।
तत्कालै बात्सल्यप्रेमले आमा पग्लिहालिन् । हाम्रो शिरमा थप्थपाइन् र एकै पटक उठाइन् । हाम्रा गाला मुसारिन् । म्वाइ खाइन् । आमाको कोमल स्पर्शले हामी सबैलाई आनन्द विभोर बनाइन् ।
भनिन्– म नारी हुँ । सन्तानप्रति कोमल हुनु मेरो स्वभाव हो । रातो सिन्दूर विजयको प्रतीक हो । अझसम्म म विजयको सौभाग्यबाट बञ्चित रहेकी छु । सौभाग्यवती नारीले सिन्दूर लगाउनैपर्ने हुनाले सेतै लगाएकी छु । मेरो पराजयको मुख्य कारण तिमीहरूकै उच्छृङ्खल व्यवहार हो ।


Comments

Post a Comment

Thanks for your concern. We would be very grateful to hear and respond you. ♥ ♥

Popular posts from this blog

मिठा नेपाली कथा 28