Interesting Nepali story 21
- Get link
- X
- Other Apps
धनराज गिरी
दिक्क हुनका लागि चाहिने सामानहरू घरबाहिर भन्दा घरभित्र बढ़ी थिए |घरभित्र लेखिएका कविताहरूमा कुनैमा छन्द मिलेको थिएन | माइती पनि उस्तै | चित्त बुझाउने कुरा उही फेसबुक | फेसबुकमा भने केही रमाइला कुराहरू पनि आउने | परिवारका अरू सदस्य आ --आफ्नो संसारमा हराएको बेलामा सुन्तलीले फेस बुक खोली | "लाइभ "मा स्वामी चतुरानन्द चित्तहर हरेककाल स्त्रीदर्शी ---प्रवचनमा मग्न ---८८ भावक, धाराप्रवाह प्रवचन : हे मुमुक्षुको कामना गर्ने परमात्माका पवित्र सन्तान,हे जागरुक आत्माहरू, यो "मान्छे "हो यो मान्छे अचम्मको जात हो,यहाँ एक बुद्ध जन्मिए लाखौं हिटलर जन्मिने कुरा पक्का हो | एउटा दानी जन्मिए लोभी र पापीहरू अनन्त जन्मिने पनि पक्का हो |हाम्रा शरीरका अंगहरू पनि स्वार्थी,अमूर्त मन पनि स्वार्थी |हामी मान्छे अचम्मको स्वार्थी, हामी प्रगति चाहन्छों ---अरूको होइन |हामी तारीफ़को प्रतीक्षामा हुन्छों ---अरूको होइन |हामी आफूलाई मात्र ---मात्र आफूलाई "ठीक "मान्ने मनोरोगबाट ग्रस्त भएको धेरै भयो | के अरूको बारेमा राम्रो सुनेर हाम्रो मन ख़ुशी भएको रेकर्ड छ ? न न न .....त्यस्तो मनको धनी मानिस हुन सकेको भए यो सन्सार वास्तविक "यूटोपिया "हुने थियो | "अरूको होइन "यही हो स्थायी "कोरोना "---मनभित्रको कोरोना |अरू कुरा त छोड़ यार ......काल्पनिक कथामा कुनै कथाकारले आफूलाई "हीरो "बनायो भने पनि त्यो कथा पढेर हाम्रो मनले भन्नेछ," मात्र आत्मश्लाघा र आफू महान " देखाउने काम गर्छ यो "झूरकान्त मैनाली !"यसले खोकेको कति सुन्नु ? झ्याउ लाग्छ हामीलाई | सकारात्मक कहानीभन्दा नकारात्मक कहानी बढ़ी मन पराउने, एक नारीलाई --दुःख पाएमा ---संघर्ष गरेको इज्जतको जिन्दगी जिएको नदेखाएर " बजार "मा लगेर उही उही 'नरकपथगामी'भएको देखाउने हाम्रो संस्कार छ | नारीले संघर्ष गरेको इतिहास छैन ? यो सन्सारमा नारीले जति युद्ध कसले गरेको छ ?बरू बुद्ध हुन सजिलो छ,नारी हुन सजिलो छ ? हे आत्मीय सुधीजनहरू, हामी मान्छे,मान्छे बन्न नसकेको कुरा सत्य हो | म पनि मजस्तो स्वामीको तारीफ़ सुन्न खोज्छु,तर तर .....तर .......'अरूको होइन ' .......यही हो मूल समस्या, आजलाई यति नै !" सुन्तली एकोहोरो हुन पुगी "के अरूको प्रगति देखेर मन ---मेरो मन --ख़ुशी भएको रेकर्ड छ ?छैन !नमन स्वामीजी,हजूर ठीक हो ---अरूको होइन ....मेरो मेरो मेरो .....स्थायी कोरोना !"
लघुकथा -किशोरको मन
योगप्रसाद उपाध्याय चापागाईं दिङलाली-
दिनको दुईबजेको हुँदो हो । बनिदै गरेको सडक ।
"आमा ! आमा ! म पनि जान्छु ।" ऊ पछि लाग्यो ।
"बाहिरफेरो कतै जाउँन त भन्यो जहिल्यै पछि लागेको । तेरो थुतुनो !" आफुतिर आएको आमाको लबटा देखेर किशोर तर्कियो ।
"मधुहर्कामा जान्छु भन्दा नि नजा रे । बाटुली आउँदा नि नाइज रे । तपाईंसंग आउदा नि पछिपछि आएर पछ्याको हुने । म चाहिँ कहाँ जानु त त्यसो भा ॽ"
छोराका कुरा सुनेर छोरापटि फर्किने हुँदा खुट्टो ढुंगामा ठेस लाग्यो र आमा भुतुक्कै भइन ।
आमाको "अइय्या र आत्था" देखेर उसले आमाको व्यथा बुझ्ने कोशिस गर्यो ।
उसले वरिपरि हेर्यो । कसैलाई देखेन । भगवान सम्झियो र मनमनै प्रार्थना गर्यो ।
"हे भगवान ! तपाईं कहाँ हुनुहुन्छ ? आकासमा की पातालमा ? तपाईं जहाँ भए पनि हामी सडकमा छौं । आएर मेरी आमाको व्यथा निको पारिदिनुहोस् ।"
भोजपुर दिङला ।
लघुकथा :- चेतना
तिलक तारामी “रेशाली”
“फोहर यस्तो जथाभावी फाल्नु हुन्न। कुहिने फोहरहरू छुट्टाएर कम्पोष्ट मल बनाऔं। नकुहिने फोहरहरूको उचित ब्यवस्थापन गरौं। यत्ति गर्न सक्यौं भने हाम्रो गाउॅं सफा हुन्छ र फोहरबाट लाग्ने विभिन्न किसिमका रोगहरूबाट बच्न सकिन्छ।” चेतनले गाउॅंलेको भेलामा भन्यो।
“धेरै जान्ने नबन्। दुई चार महिना शहर के बसेथ्यो, खुबै डाक्टर बन्दो रैछ।” तल्लाघरे काका बोल्नु भयो।
उपस्थित अरूले पनि काकाको बोलीमा, हो मा हो मिलाए। चेतनले गाउॅंवासीलाई बुझाउनै सकेन् किनकी त्यहाॅं जन-चेतनाको कमि थियो।
चेतन पनि शहर फर्क्यो। त्यसको तिन महिना पछि गाउॅंमा झाडा पखालाको महामारी नै फैलिएछ। थुप्रै मान्छेहरू हताहत भएछन्। काकाको श्रीमति र नातिनीको पनि हैजाकै कारणले मृत्यु भएछ। काका पनि सिकिस्त भएछन्। उनलाई उपचारको लागि शहर लगियो। एक अस्पतालमा उनको उपचार हुॅंदै थियो।
चेतनले पनि यो कुरा थाहा पाएर काकालाई भेट्न अस्पताल गयो।
“नमस्ते काका ! अहिले हजुरलाई कस्तो छ?”
नमस्ते फर्काउॅंदै काका बोले, “अहिले अल्लि विसेक भएको छ बाबु। बुढी र नातिनीलाई यो हैजाले लगिहाल्यो। म मर्नु न बाॅंच्नु भएको छु।”
“अब ठिक हुन्छ काका, आत्तिनु पर्दैन्। यो सबै हाम्रो सरसफाईको कमिले हो। हामी आफू पनि सफासुघ्घर हुनुपर्छ र हामी बस्ने गाउॅंको पनि सरसफाई गर्नुपर्छ।”
“हो काका! चेतनजीले ठिक भन्नु भएको छ। सरसफाईले धेरै रोगहरू लाग्नबाट बचाउॅंछ।” डाक्टरले भने।
डाक्टरले पनि चेतनकै कुरामा सहमति जनाए पछि बल्ल काकाको चेत खुल्यो। काकाले
चेतनको हात समातेर भने, “मलाई माफ गर बाबु। पहिले तिमीले भनेको मानिन्। अहिले मैले त्यसैको सॅंजाय भोग्दै छु। आफैलाई नपरे सम्म नबुझिने रहेछ। तिमीले पढेर बुझ्यौ, मैले परेर बुझें।”
“हो काका, हजुरले ठिक भन्नु भयो।”
“अब हामी दुई जना मिलेर गाउॅंमा सरसफाई र स्वास्थ्य सम्बन्धि चेतनाको दियो बाल्नु पर्छ है बाबु !” काका बोले।
प्रतिउत्तरमा चेतन खुशी हुॅंदै बोल्यो, “हुन्छ नि काका !”
१४ जेठ, २०७७
बुटवल-११, रुपन्देही।
लघुकथा: जीवनचक्र
गिरिराज डल्लाकाेटी
ढुङ्गाकाे चुल्होमा प्लास्टिकका टुक्राहरु पाेलेर मकैकाे खाेले पकाउँदैछिन् सिमाेरी । अलि पर जिउमा हाडछालामात्र बाँकी रहेका १० वर्षकी निकिला र ५ वर्षकाे अतिर अाफ्नाे घरमा खाेले पाकेकाे देखेर मुख मिठ्याउँदै घुँडामा च्यापु टेकाएर कहिले छड्कँदै गरेकाे खाेले र कहिले अामाकाे छेउमै राखिएकाे लट्ठीलाई हेरिरहेकाछन् । अलि पर तीनचारवटा गिद्धहरु भाेका अाँखाहरुले तिनै सुकेका हाडछालाहरु हिड्दहिड्दै भुइँमा धराशयी हुने प्रहर पर्खिरहेका छन् ।
सिमाेरी अाज झिसमिसेमै बन्दुक बाेकेर लाेग्नेसँग पल्लाे गाउँमा मकै लुट्न गएकी थिई । ३/४ घाेगा मकै भाँच्न नपाउँदै कताकताबाट भटटट गाेली चल्याे । अँधेराेमा उसका लाेग्नेस्वास्नीले पनि अन्धाधुन्ध गाेली चलाए । गाेली लागेर उसकाे लाेग्ने त्यहीँ ढल्याे । ढलेकाे लाेग्नेकाे हातकाेसमेत मकै बाेकेर ऊ गाेलीका पर्राहरुकाे बिचबाट भाग्दै घर अाइपुगी । तीनदिनदेखिकाे भाेकी सिमाेरीले मकै छाेडाएर ढुङ्गामा पिनी र खाेले बसाई । छाेराछाेरीले पाक्दापाक्दैकाे खाेले चाेरेर खाइदेलान् भनेर उसले दुबैलाई २/२ लाैराे साेठ्याएर अलि पर लखेटी । उसलाई न गाेली लागेर ढलेकाे लाेग्नेकाे चिन्ता थियाे न भाेकले अाकुल छाेराछाेरीकाे । चिन्ता थियाे त केवल अाफ्नै पेटकाे ।
बीसवर्ष पहिले संसारभरि काेराेना भन्ने भाइरस फैलिएकाे थियाे । त्यसकाे अाैषधि पत्ता लागुन्जेजस्ममा कराेडाैँ मानिसहरु मरेकाथिए । एकवर्ष पुग्दानपुग्दै उद्योग र व्यापार सबै बन्द भए । शहर बिस्तारै खाली हुँदैगयाे र बाँचेका मान्छेहरु गाउँ पस्न थाले । विदेशतिर बस्नेहरु पनि सबै स्वदेश फर्केर गाउँमै थुप्रिए । सिमाेरी पनि लाेग्नेसहित एउटा गाउँमा आएर बसी । कृषिभन्दा अर्काे कुनै पेशा रहेन । खाली जमिन सबै अाबाद भए । वनक्षेत्र पनि बाँकी बसेन । वन विनास भएपछि शुरुमा बाढी र पैह्राेले बिचल्ली बनायाे । केहीवर्षपछि अनावृष्टिले गर्दा बालीनाली हुन छाड्याे । खाेलाहरु सुके । धेरैजसाे जमिन मरुभूमिमा परिणत भए । खानेकुराकाे हाहाकार भयाे । खान नपाउनेहरुले अरुकाे बाली लुटेर खान थाले । घरमा भएकाे खानेकुरा पनि लुटिन थाल्याे । दुख गरेर लगाकाे बाली लुटिने भएपछि धेरैले बाली लगाउनै छाडे । खान नपाउनेहरुले घरपालुवा जनावरहरु सबै खाएर सके । जङ्गली जनावर पनि सबै सके । लुट्न र लुटबाट सुरक्षित हुन मान्छेपिचछे बन्दुक हुनथाल्याे । मर्नु र मार्नु सामान्य कुरा हुनपुग्याे । भेटेकाे खानेकुरा पहिले बलियाेबाङ्गाेले खान्थे र बाँकी रहेमा मात्र बुढाबुढीहरु र केटाकेटीहरुले भेट्थे । तिनीहरु भाेकले जताततै मरिरहेका हुन्थे । गिद्धहरु मरेका सिनु खाएर फैलिदै गएपछि मान्छेहरुले तिनीहरुलाई पनि खान थाले ।
खाेले पाकिसकेछ । सिमाेरी सबै खाेले एउटा थालमा खन्याउछे । निकिला र अतिर टाउकाे उठाएर खाली भाँडामा हेर्छन् । अलि पर गिद्धहरु अझै बसिरहेकै छन् ।
लघुकथा : राजनैतिक हस्तक्षेप
तुलसी पण्डित
आज ठूलै नेता आउने रे ।हरेक स्कुलमा सर्कुलर पठाएकाछन् ।विद्यार्थी अनिवार्य रुपमा लैजानु पर्ने ।
शिक्षकले पनि माथिको आदेस भन्दै आफ्ना स्कूलका सबै विद्यार्थीलाई ह्विप जारी गरे ।अनिवार्य रुपमा सबै जानु पर्ने ।
जिल्ला भरीका विद्यार्थीहरु ब्यानर र नारा लगाउदै कार्यस्थलमा पुगे ।विद्यार्थीहरुको अनिवार्य उपस्थिति र अरु मानिसहरुको आगमनले कार्यस्थलमा न अटाएर बाटोमा गाडी जाम गरी मानिसहरु बसि रहेका थिए ।
मानिसको खचाखच उपस्थितिले नेता खुशी भएर भन्न थाले ।
"उपस्थित जनसमुदाय आजको यस
उपस्थितिले विपक्षको मुटु
छर्केको छ ।यति ठूलो जनसमुदाय अहिले सम्म मैले देखेको पनि थिइन ।म के भन्न चाहन्छु भने अब देश समृद्धिमा लम्कने छ ।सारा जनताको समस्या हल गरिने छ अब दुखका दिन गए ।
यहाँ एकथरी तत्वहरु देश र जनताको विरुद्ध लागेका छन् ।उनीहरु विकासलाई ध्वस्त पार्न चाहन्छन् ।ती आतङ्कारी तत्वहरुलाई चाँडै नै निर्मुल गरिनेछ ।अहिलेलाई यति नै ।"
नेताका यस कुराले आन्दोलन गरी रहेका शक्तिलाई निकै चोट पुर्यायो ।उनीहरुले प्रत्येक स्कुलका शिक्षक विद्यार्थी माथि आक्रमण गरे ।
यो कुरा थाहा पाएको प्रहरी उति नै खेरी घटना स्थलमा पुगे ।दोहोरो फायरिङ् भयो ।कयौ विद्यार्थी हताहत भए ।
यसको सर्वत्र विरोध गरियो ।नाराजुलुस लाग्न थाले ।
"स्कूलमा राजनैतिक हस्तक्षेप बन्द गर । बन्द गर बन्द गर ।"
लघुकथा : - भेदभाव
जनक सिक्देल
मङ्गली कुनै पनि कुरो ल्याउँदा बोलाएर , छोररालाई मात्र दिन्थिईन् । विचरी ! छोरीलाई चाहिँ अलिकति पनि दिन्थिईनन् । उनी भन्थिईन् - " तँलाई पोषेर के गर्नु ? अरूको घरमा जाने जात । बरू भाइलाई खुवायो भने त , बुढेसकालमा पाल्छ । मरेपछि काँधमा बोकेर लान्छ । मुखमा दागवाती दिन्छ । छोपो गुथेर कामकृया गर्छ । "
विचरी ! " अञ्जना " अामा चाहिँकी यस्तो कुराले अाँखाबाट तुरूतुरू अाँशु झारेर रूँन्थिईन् । तर , उनी सानै थिईन् । कुट्छिन् कि भन्ने डरले केही बोल्थिईनन् ।
अक्कलेले एक दिन् , छोरीकी अँध्यारो मुख देखेर सोध्यो - " के भयो ? किन अँध्यारो मुख पारेकी " ?
" बुवा ! , अामाले जे ल्याए पनि , भाइलाई मात्र दिने । मलाई पर बस् भनेर भन्ने । यसरी भेदभाव गर्न पाइन्छ ? भन्नुस् त । " अञ्जनाले रूँदै सवै वृतान्त सुनाईन् ।
मङ्गली यसै वेलामा अाइपुगिन् । अनि , अक्कलेले , श्रीमतीलाई भन्यो - " के हो तिम्रो चाल् ? किन यसरी दुइ भाग गरेकी ? छोरा र छोरीमा के फरक छ र ? छोरा जन्माउँदा पनि उत्तिनै कष्ट । छोरी जन्माउँदा पनि उत्तिनै ...... । छोरीले पनि , छोरा सरहनै , अामाबुवाको कामकृया गरेकीछिन् त । जूठो पनि वारेकीछिन् त । झन् पढेलेखेर डक्टर , इञ्जिनियर , अोभरसियर तथा मास्टर पनि भएकीछिन् त । ठू - ठूला नेता र देशको राष्ट्र्पति पनि भएकी देखेकी र सुनेकीछ्यौ त । यसर्थ छोरा र छोरीमा केही फरक छैन । यसरी भेदभाव गर्नु हुँदैन। " त्यसपछि , ऊ काममा गयो ।
विराटनगर - ५
मोरङ्ग
लघुकथा : फुल फुट्यो
तुलसी पण्डित
"हेर यो तिम्रो इच्छा कहिले पनि पूरा हुन सक्दैन ।त्यसैले यी कुरा म सँग न गर । हाम्रो समाज एउटा छुवाछुट प्रथा चलेको समाज हो । जहाँ अछुटो जातिको पानी चल्दैन ।
उसले मन्दिर बनाउँछ । मन्दिर भित्र गएर पूजा गर्ने अधिकार छैन ।घर बनाउँछ घर भित्र पस्न अधिकार छैन ।
हामीले माथिका जाती भनाउँदाहरुलाई टाढैबाट देखे जदौं भन्नुपर्छ । हामीले खाएको थालमा पानी राखि आगो खसालिन्छ । उनका केटाकेटी छोइयो भने सुन पानी छर्केर चोखो बनाउँछन् । हामीलाई बाटोमा देखे साइत पर्दैन रे । यस्तो म सँगको तिम्रो प्रेम कसरी सफल हुन्छ ।
तिमी कुलिन बर्गकी छोरी । म परे पानी न चल्ने जात ।यदि मैले तिमी सँग प्रेम गरेको थाहा पाए भने म मारिनेछु ?"
"हेर यी तिमीले भनेका कुरा प्रति मलाई पटक्कै विश्वास छैन ।त्यो भेदभावलाई हटाउनु मेरो कर्तब्य हो । त्यसैले त म कुलिन जातिको छोरी भए पनि तिमी सँग बिबाह गर्न तयार छु । जाऊँ आजै समाज चाँडै परिवर्तन गर्नुछ ।"
गाउँमा केही समय टिकाटिप्पणी भयो ।व्यापक खोजी गरे ।कहि न पाए पछि गाउँलेहरु सबै एउटा फुल फुट्यो भन्दै तर्किए ।
नानुमाया शहर पसिन् । विभिन्न संघसंस्थामा काम गरिन् । उनको अथक सेवा देखेर विभिन्न संघसंस्थाले सहयोग गर्ने वचन दिए ।उनले गाउँमा सहयोग लगेर भब्य स्कुल बनाइन् । अरु सहयोग लगेर बाटो घाटो बनाइन् ।खानेपानीको ब्यवस्था गरिन् ।
उनको असल कामले गाउँलेहरु सबै प्रभावित भए । यही मौका छोप्दै नानुमायाले जातभात जस्तो कुप्रथाको अन्त्य गराएर छोडिन् ।
आजकल गाउँलेहरु सबैको मुखमा एउटै आवाज झुण्डिएको छ ।
" धन्य नानुमाया जन्मेकी रहिछन् ।"
लघुकथा : ब्वाइफ्रेण्ड
मदन पराजुली ।
तिर्सना बडा चुरिफुरीले र चहचहाउदै बताउदै थिइ कि कसरी उसले दिनेश संग ब्रेक अप गरि ? अहिले कसरी रंजन संग सम्बन्ध राख्दा सपिङ्गमलमा अर्को ब्वाइफ्रेण्ड जयन्तलाइ "डज" गरेर छल्नु पर्यो, प्रकाशलाइ त उ घाँस हाल्ने बिचारमा पनि छैन ....आदि आदि ।
साथी घटोस या बढोस । भावनाले मसक्क आंट गरि " तिमी जे कुरा भन्दै छौ तिर्सना , अचम्म लाग्दो छ ! तिम्रो कुरा सुने भने मेरो घरमा मलाइ तिमीसंग हिड्न प्रतिवन्ध लाग्छ । तिमीलाइ साथी हो भन्दा भोलि मलाइ माग्न आउने केटा , कुटुम्बले थाहा पाए भने मेरो बिहा नहुन पनि सक्छ । म त पाखारेखाकि छोरी परे , मीठो बोल्न आउदैन ! पहिला हुन्थ्यो भने तिम्रो ब्वाइफ्रेण्डलाइ "नाठो" भनिन्थ्यो र तिमीले गरेको कामलाइ " नाठा खेलाएको !" अलि विवेकशील बन तिर्सना !"
" अब म यहाबाट हिड्नु पर्छ होला !" भावनाले उठेर झोला भिरी । नन्दा र कुमुदिनी पनि सगै उठे।
त्यहां तिर्सना मात्रै बाकी थिइ ।
लघुकथा: अधुरो तलाश
रण काफ्ले
धेरैदिन देखि रमेश एकान्तमा एक्लो मनपराउन थालेका थिए। कसैलाई हेरे हेरिरहने। बसे बसिनै रहने। हिड़ेँ हिड़िँनै रहने। एकोहोरो थियो उनको हर काम गराई। अनुहारमा पनि अघिको जस्तो हाँसो ,खेल - ठट्टा,रमाउने, जस्ता बिस्तारै हराउँदै आएकोथियो। घरका जम्मै उनको अचानक बदलिएको व्यवहार देखि दंग परेकाथिए। निन्द्रा भोक तिर्खा जम्मै ठिकठाकै छ। रोगि पनि भन्न नमिल्ने। रमेश देखि गाउँका साथीभाईहरु पनि छक्क परेकाथिए। फुर्सदको समयमा पुस्तक पढ़ेर आफुलाई व्यस्त राखेर अनायास मस्तिष्कमा लगातार आईरहेको एक दृश्य भुल्न खोजिनै रहेका हुन्थिए। जुन दृश्य उनको मानषपटलमा घरि घरि घुमिनै रहेको हुन्थियो। कसैलाई सुनाउँन नसक्ने नै थियो उनको गोपनियता। एउटा अकल्पनीय दुर्घटनाको जीवनमा आफुसंग सधैं टास्सिनै रहने क्षणहरु आलै थिए हरपल। पुरुषमनको अतृप्त, व्याकुलता। विपरीत संगको आवेग,आकर्शन अनुभुतिहरु। चतचित्रको फ्लेसबेक जस्तै आईरहने। झन झन बिर्सनै गारो पर्ने झम्टाईहरु। सम्झिनै रहे जीउँनै सारो पर्ने त्यो अंकित चित्रहरु जो पाए जस्तो फेरि पाएर गुमाए जस्तो। एक प्रकारको मानशिक रोगमा भोगिनै रहेजस्तो भएको थियो उनलाई।
एकदिन अचानक रमेशले पुस्तक पढ़ीनै रहेको बखत उनको मस्तिष्कमा एउटा नौलो तस्वीर बारम्बार घुम्न थाल्यो। रमेशको सधैं आउने किरिङमिङ दृश्यहरु बिस्तारै मस्तिष्क बाट अकाशमा बादल फाटेझै मुछिनथाले। उन्लाई भिन्नै अनुभव हुन थाल्यो। पुरानो कुदिएको अनुहार माथि नयाँ दिव्य प्रकाशमान मनमोहक अनुहार बसिदिएकोमा ठुलो आँट पाए जीवन जीउँन उनले। आँखा बाट कालो पट्टि खोलिए जस्तै भयो। नौलो जीवन पाए जस्तो। अब उन्लाई धेरैदिन बाँच्न मन लाग्यो। मानौ खड़ेरीमा झरिपरे पछी धरतीले पालुवा फेरेझै उनको मन हरियो भयो।
केहिदिन पछी एउटा मिरमिरेको अध्याँरोमा उनले देखेछन विसाल नदीको गहिराईमा दुवै ढुवी नै रहेको। रुखमा लहरो बेरिएझै गरि बेरिएर जल क्रिड़ा गरिनै रहेको। शुन्यतामा समाधि बसेर योगाभ्यास गरि परमात्माको अनुभूति लिए जस्तो।
वास्तवमा त्यो एउटा मस्त निदाउँदाको मधुर सपना रहेछ। आज भोली किनहो किन रमेशको अनुहार खु:सी देखिने गर्दछ। को होला उनको मन भित्र कसैले बनाएर भत्काई दिएको गुँड़ फेरि बनाईदिन आउँने सुन्दर तस्वीर भित्रको मान्छे। श्रृंगारले सज्जीएको जीवन्त बोलिनै हाल्ने चित्र भित्र उनले खोजेर नभेटेको रातो रङ्गको टिका । कतै रङ्गिन जीवन बाट वेरङ्ग भै जीउँन थालेको कोई त हौन? आज पनि उनको तलाश अधुरो छ ।
लघुकथा-बाद बिबाद
सीताराम नेपाल
मैले कलेजमा राष्ट्रियता र राष्ट्रबाद पढाउदै थिएँ आज।
- राष्ट्रियता भनेको के हो ? यो कहिले र कहाँ उत्पन्न भयो ? यसलाई अङ्ग्ेजीमा के भनिन्छ ?..... परिभाषा .... । छलफललाई छुट्टाएको समय सुरु भयो ।
निमेशले सोधे -" सैद्धान्तिक कुरा छाडाै र व्यवहारमा हेराै सर । कहाँ हुन्छ राष्ट्रियता र राष्ट्रवाद ?"
-" मान्छेमा । मान्छेको मन मुटुमा हुन्छ राष्ट्रियता .... । प्रत्येकको धड्कनमा धड्किरहेको हुन्छ" - म उत्तर दिदै गएँ।
-" के प्रत्येक व्यक्तिमा हुन्छ ?" किसनले प्रश्न गर्यो ।
-" हुनैपर्छ र हुन्छ । तब न राष्ट्रका लागि हासी हासी बलिबेदिमा होमिन्छ मान्छे ।"
-" उसोभए राष्ट्रघाती शब्द किन उत्पन्नत भयो ? यो त राष्ट्रियता सङ्गैजसो विकास भएको होइन र सर ?" नमिताले सोधी ।
-" समाजमा चोर, डाका, हत्यारा, अपराधी भए जस्तै २,४ जना देशघाती धमिराहरू हुन्छन् । तिनीहरूले बिदेशीको गुलाम बनेर राष्ट्रलाई प्रत्यक्ष वा परोक्ष घात गर्ने काम गर्न सक्छन् । त्यस्तालाई राष्ट्रघाती भनिन्छ ।...."
-" म यो मान्दिन । यो त अन्ध राष्ट्रबादको कुतर्क मात्र हो ।" महेश कड्क्यो ।
-"राष्ट्रवादी र राष्ट्रघाती कसरी चिन्ने त सर ?" सुरेशले सोध्यो ।
-" व्यवहारबाट सजिल्यै चिनिन्छ । "
-" हाम्रो समाजमा राष्ट्रवादी धेरै छन् कि राष्ट्रघाती सर ?" एक बिध्यार्थीले दोहर्याएर प्रश्न नसोध्ने भने पनि महेशले फेरि सोध्यो ।
भैहाल्यो भनेर मैले उत्तर दिएँ -" कुनै पनि समाजमा राष्ट्रवादी धेरै हुन्छन् । हाम्रोमा पनि ।"
-" होइन सर । म यो मान्दै मान्दिन ।" उ रातोपीरो भएर बुरुक्क
उफ्रयो ।
-" किन ?" मैले सोधेँ ।
-" होला ! कसैले जानेर वा नजानेर ३२ सालमा नक्साबाट हटाएर अर्काको पोल्टामा हालेको कालापानी यतिन्जेल (४४ बर्षसम्म) किन कसैले नखोजेको ? नक्साबाट हटाउनेलाई किन पहिचान गरि कार्यबाही नगरेको ? यसबाट हाम्रो देशमा राष्ट्रघाती धेरै छन् भन्ने प्रमाणित हुदैन र सर ? राष्ट्रघाती धेरै भएपछि तिनै राष्ट्रवादी हुन् ।...."
बिध्यार्थीहरू राष्ट्रवादी राष्ट्रघाती कित्तामा विभक्त हुदै थिए । समय सकिएकोले म बाहिरिएँ।
पछि थाहा भयो - राष्ट्रघातीको पक्षमा उफ्रि उफ्रि चर्को कुरा गर्ने विध्यार्थी ३२ सालका बिभागीय मन्त्रीका नाति र टिकापुर हत्याकान्डका एक अगुबा पो रहेछन् ।
लघुकथा : बांझी अाइमाई
शुक्रराज कुंवर
बालबच्चा भनेपछि भुतुक्कै हुने राजेश दुई वर्षीय शिशु खेलाउंदै थियो , घुघुती .... बासुती .... । टिरिरिङ... ! मोबाईल बज्यो । बच्चालाई अोछ्यानमा राखेर मोवाईल बोकेर बाहिर गयो । भान्सामा खाना बनाउदै गरेकी उसकी श्रीमती रमा लिटो लिएर बच्चा सम्हाल्न अाईपुगी ।
राजेश बाहिर कुरा गर्दै थियो । त्यही संधै गरिरहने मैयाको रहेछ । अचेल उसको कल अाउंदा बाहिर गएर बोल्थ्यो , पटक पटकको यो क्रिया रमालाई निको लागेको थिएन ।
दुई वर्ष अघि उनीहरुको कोखमा त्यो बच्चा खुसियाली बोकेर अाएको थियो । माया गरेर उसलाई ' छोरु ' भन्थे । घरमा एक किसिमको बेग्लै रौनक नै थियो । अलिअलि बोल्न पनि सिक्दै थियो । " बाब्बा ... मम्मी "...भन्न जानेको थियो । 'बाबा , मम्मी ' हुन पाएकोमा एक किसिमले जीवन पूर्ण भए जस्तो लाग्थ्यो उनीहरुलाई ।
समयले कोल्टे फेर्यो । राजेश र मैयाको हिमचिम शिखरमा पुगेको कुरा रमालाई थाहा थियो । उसलाई मति भ्रम हुनबाट बचाउन धेरै प्रयास गरि , सम्झाई पनि । यहीं विषयलाई लिएर दिनहुजसो खटपट हुन थालेको थियो र कहिलेकाही रडाको पनि मच्चिन्थ्यो । अन्तमा केही नलागेपछि बिहे गरेर ल्याउनुन् त सम्म भन्न भ्याएकी थिई रमाले ।
" अब तं बाट केही हुनेवाला छैन त्यसै गर्न बांकि छ " चसक्क घोचिने तर हल्का रुपमा राजेशले अोकल्यो । सहनुको कुनै बिकल्प थिएन रमालाई ।
अफिस जाने बेला राजेश खाना खांदै थियो त्यहीं बेला मैयाको कल अायो । यही विषयलाई लिएर उनीहरु बिच फेरि रडाको मच्चियो । रिसको अावेगमा राजेशले "चुप लाग " भनेर एउटा साह्रै नमिठो शब्दबाण प्रहार गर्यो र फन्फनिदै अफिस गयो ।
विवाह भएको नौ वर्ष पछि अकल्पनिय शब्दबाण प्रहारले साह्रै चित्त काटिएर अायो रमाको । रिसले अागो भई । उ अाफै पनि सक्षम स्वाभिमानी थिई । जीवन निर्वाहको लागि राजेशकै भर पर्नु पर्ने अवस्था पनि थिएन । सहन गर्नै नसकिने वचन । उसले तत्काल बाटो अलग गर्ने कठोर निर्णय गरी ।
त्यो अबोध शिशु ' मम्मी " भन्दै उसको पाउमा अाई पुग्यो र ठाडो घाँटी लाएर हेर्यो । शिशुको मायाले मातृत्व जगेर अायो र बोकेर चुम्न थाली । जन्मदै मातृत्व गुमाएको त्यो शिशु राजेशले साह्रै रहर गरेर दुई वर्ष अघि उनीहरुले गोद लिएका थिए । एउटी केटीको कारण मति भ्रष्ट भएको राजेशले अर्की नारीको अात्मसम्मानमा ठेस पुग्ने गरी शब्दबाण प्रहार गरेको थियो । 'बांझी अाइमाई ' ।
२०७७ / ०२ / १२ धरान
- Get link
- X
- Other Apps
Comments
Nice story
ReplyDelete